• ८ पुस २०८२, मङ्गलबार

आगलागीबाट वर्कसपमा ६० लाखको क्षति

गुल्मीमा एक महिनामा १० आगलागीका घटना

blog

रेसुङ्गा नगरपालिका–८ को सुजता अटो वर्कसपमा सोमबार भएको आगलागी । फाइल तस्बिर

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ८ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ बसपार्कको सुजता अटो वर्कसपमा सोमबार बिहान भएको आगलागीबाट ६० लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँ घर भइ बसपार्कमा व्यवसाय गर्दै आउनुभएका ४० वर्षीय विक्रम सुनारको वर्कसपमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले सञ्चालक सुनारका अनुसार घर र सामानको आधारमा क्षतिको अनुमान गरिएको जानकारी दिनुभयो । सारुका अनुसार वर्कसप पूर्ण रुपमा जलेर नष्ट हुनुको साथै सञ्चालक सुनारको अनुहार, बाँया हातमा सामान्य जलेको र भाग्ने क्रममा बाँया खुट्टामा सामान्य चोट लागेपछि गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ ।

आगो रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी र नगरप्रहरीसहितका स्थानीयको सहायतामा नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक सारुका अनुसार एक महिनामा दस आगलागीका घटना भएका छन् ।

आगलागीबाट एक जना मानिसको मृत्यु र दुई जना घाइते भएका छन् । चार गोठ जल्दा तीन पशुचौपायको मृत्यु र चार चौपाय घाइते भएका छन् । अहिले जिल्लामा बाह्रै महिना आगलागीका घटना हुने गरेका छन् । विद्युतको विकास नहुँदै सुख्खा र गर्मी समयमा मात्रै आगलागीका घटना हुने गरेपनि पछिल्लो समय सवै महिनामा आगलागी हुने गरेको प्रहरीले जनाएको छ । विद्युतीय सामग्रीको प्रयोगमा सावधानीनै नियन्त्रणको उपाय भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।