अर्जुन काफ्ले
स्याङ्जा, पुस ७ गते । अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारबाट सुरु भएको छ । वडा १ मा रहेको पालिका खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यार्थीले आफ्नो नेतृत्व र क्षमता देखाउने ठाउँ यो प्रतियोगिता भएको बताउनु भयो । उहाँले विद्यार्थीमा खेलकुद प्रतिको रुचि अभिवृद्धि गर्ने, प्रतिस्पर्धा मार्फत प्रतिभावान खेलाडी छनोट गर्ने तथा उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव आयोजना गरिएको बताउनु भयो ।
यस्तै उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, पञ्चकन्या माविका प्रधानाध्यापक जीतबहादुर थापा, शैक्षिक कार्यदलका संयोजक प्रेमप्रसाद देवकोटा, शिक्षक नारायण काफ्ले, लाल केसी, विद्यार्थी दिपीका काफ्ले, चेन्ज मेकर क्लबका आकृती तिवारी, सिजन रोका, आयुस चापागाई लगायतले मन्त्य राख्नु भएको थियो ।
खेलकुद महोत्सवमा मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्विक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, बिच भलिबल तथा विभिन्न दूरीका दौड प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्यमा प्रतस्पर्धा हुने छ ।
तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा २९ विद्यालयका एक हजार खेलाडी सहभागी रहेका छन् । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको एक लाख रुपियाँ बराबरको बिमा पालिका गरेको छ ।