• २४ चैत २०८२, मङ्गलबार

सन्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

blog

सन्जीवनी अस्पताल नेपालगन्जमा आमा सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २४ गते । नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा मंगलवारबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रम यस क्षेत्रकै यो ठुलो निजि अस्पतालमा सञ्चालन गर्दा नेपालगन्ज लगायत बाँके र बर्दियाका विपन्न तथा गरिब महिलाहरुलाई सबैभन्दा बढी लाभ पुग्नेछ । 

मंगलवार अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र अस्पतालका प्रबन्ध निर्देशक सन्तोष कुमार खनालले सो कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

सो अवसरमा बोल्दै नगरप्रमुख बिष्टले बाँकेका निजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा भेरी अस्पतालमा गर्भवति महिलाको अत्यधिक चापका कारण सेवा प्रवाहमा समस्या आएको बेला यहाँ संचालनमा आउँदा अब यस क्षेत्रका धेरै विपन्न र गरिब महिलालाई लाभ पुग्ने बताउनुभयो । 

सन्जीवनी अस्पताल नेपालगन्जका प्रबन्ध  निर्देशक सन्तोष कुमार खनालले यो अस्पताल संचालन गरेकै दिनबाट आमा सुरक्षा कार्यक्रम सुरु गर्न प्रयास गरेको जनाउँदै अहिले आएर सफलता मिलेको बताउनुभयो । उहाँले यो अस्पतालले विपन्न र गरिब विरामीका लागि धेरै सेवा सुरु गर्ने तयारी गरेको पनि बताउनुभयो । 

नेपालगन्ज मेडिकल कलेजबाट यो अस्पतालको सञ्चालन तथा व्यवस्थापन लगायतको पूर्ण स्वामित्व सन्जीवनी अस्पतालले खरिद गर्दा नै प्राविधिक कारणले रोकिएको आमा सुरक्षा कार्यक्रम अहिले आएर पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोमन किदवाईका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको स्वामित्वको व्यवस्थापन र सञ्चालनमा रहेको बेला आमा सुरक्षा कार्यक्रम लागू भएपनि सन्जीवनी कलेज अफ मेडिकल साइन्सले खरिद गर्दा केही प्राविधिक र प्रशासनिक व्यवस्थापनका कारणले आमा सुरक्षा कार्यक्रम रोकिएको थियो।

“अस्पताल फरक कम्पनीको स्वामित्वमा गएपछि आन्तरिक व्यवस्थापनका साथसाथै कानुनी चरणहरू पनि पार गर्नुपर्ने भएकोले सेवा स्थगित भएको थियो,” मेडिकल सुपरिटेन्डेन्ट डा.किदवाईले भन्नुभयो, “तर अहिले अस्पतालको व्यवस्थापन कानुनी प्रक्रिया लगायतका सबै चरणहरू पार गरेर आमा सुरक्षा कार्यक्रम पुनः संचालन गर्न सफल भएका छौँ ।”

सन्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएपछि बाँके र बर्दियाका गर्भवति विपन्न लगायतका सबै महिलालाई ठुलो लाभ मिल्ने तथा भेरी अस्पतालमा विरामीको चापले ठाउँ नहुँदा भोग्नु पर्ने समस्याबाट समेत मुक्ति पाइने स्थानीय अगुवाहरुले जनाएका छन् । 

नागरिक सरोकार मञ्च नेपालगन्जका संयोजक कृष्ण प्रसाद श्रेष्ठले धेरै दिनदेखि आफूहरुले आमा सुरक्षा कार्यक्रम जिल्लाका ठुला निजि अस्पतालमा पनि सञ्चालन गर्नुपर्ने माग गर्दै आएकोमा हाल आएर सो माग पुरा भएको बताउनुभयो । उहाँले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम तत्काल सुरु गर्नुपर्ने माग गर्नुभयो ।