• २४ चैत २०८२, मङ्गलबार

मधेशका विभिन्न सरकारी कार्यालयबाट ३३ जना बिचौलिया पक्राउ

blog

मधेश प्रदेश प्रहरी कार्यालय । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, चैत २४ गते । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीलाई अनुचित प्रभावमा पार्दै आर्थिक शोषण गर्ने गुनासो बढेपछि मधेश प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी गर्दै ति बिचौलियालाई नियन्त्रण लिई कारबाही अघि बढाएको हो ।

मधेश प्रहरी कार्यालयद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट  चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने व्यक्तिहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ।आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल समेत गरेको छ ।

कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जोकोहीलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।