रवीन्द्र उप्रेती
बर्दिवास, पुस ८ गते । प्रतिबन्धित लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको सीमावर्ती गाउँपालिका सम्सी–६ का २१ वर्षीय शेष तनबिर र सोही उमेरका मुसाहिदुल इस्लाम तथा भारत बिहार राज्यको सितामढी जिल्ला, वेला थाना–६ का २२ वर्षीय राजु कुमार मण्डल र २१ वर्षीय अरबिन्द कुमार मण्डललाई नियन्त्रणमा लिएको हो ।
सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको गस्तीले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय रामगोपालपुरसँग संयुक्त गस्तीका क्रममा उनीहरूलाई भारी परिमाणको लागुऔषधसहित पक्राउ गरको जनाएको छ ।
सुरक्षा गस्तीले औरही नगरपालिका–१ स्थित बर्दिवास–जलेश्वर सडकखण्डमा दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा शङ्कास्पद रूपमा बर्दिवासतर्फ आउँदै गरेका उनीहरूको सोमबार साँझ चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बीआर ३० एक्यू २२८५ र बीआर ३० डब्लु ०३२४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूको साथबाट प्लास्टिकको कालो झोलाभित्र डाइजेपाम ४७४ एम्पुल, बुप्रेनोर्फिन ४८४ एम्पुल र फेनारगन ४७८ एम्पुल गरी जम्मा एक हजार ४३६ थान नियन्त्रित लागुऔषध फेला परेको थियो ।
लागुऔषधसँगै उनीहरूले प्रयोग गरेका दुई थान मोटरसाइकल, साथमा रहेको नगद १४ हजार नौ सय रुपियाँ र चार थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनालाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो ।