• १३ असोज २०८१, आइतबार

निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो

blog

ढलेको टावर ।

राजकुमार भट्टराई

खोटाङ, चैत ११ गते। खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुलको टावर ढलेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको हो।

झोलुङ्गे पुलको उदयपुरतर्फको टावर बनेको केही दिनमै फेदैमा भाँचिएर ढलेको स्थानीय सुनकोसी आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल राईले जानकारी दिनुभयो। उहाँका अनुसार १३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे बिनाकारण ढलेको हो। 

निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ। खोटाङतर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो। उदयपुरतर्फ नजिक कुनै बस्ती नरहेकाले मानवीय क्षति भएन। 

ठेकेदार वसन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएका थिए। पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ। प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो। चरम ढिलासुस्तीमा निर्माण भइरहेको पुल निर्माणको काम सम्पन्न नहुँदै टावर नै ढलेको छ।  निर्माणस्थलमा पुलको लठ्ठा असरल्ल पारेर राखिएको छ। 

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुङ्गा चढेर नदीमा वारपार गर्ने गरेका छन्। उदयपुरको कटारीबजार, डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो।