काठमाडौं, चैत १० गते । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उहाँका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको हो ।
निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गर्नुभएको थियो ।
उहाँले सन् २००७ मा 'लागा चुनरी मे दाग', २०१० मा 'लफंगे परिन्दे' र २०१४ मा रानी मुर्ख्जीको फिल्म 'मर्दानी' निर्देशन गर्नुभएको छ । फिल्मसँगसँगै उहाँले 'फोर्बिडन लभ' र 'दुरंगा' जस्ता वेब सिरिज पनि निर्देशन गर्नुभएको छ ।
प्रदीपको निधनमा बलिउड शोकमा डुबेको छ । उहाँको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, "यो घटनाले निकै स्तब्ध भएको छु । हजुरको आत्माले शान्ति पाओस"।