चिनियाँ प्राध्यापक झान जुन चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीमा पत्रकारिता तथा सञ्चार विभाग प्रमुख तथा मिडिया विशेषज्ञ हुनुहुन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यान डियागो र कलेज अफ विलियम एन्ड मेरीमा समेत अध्ययन अनुसन्धानको अनुभव लिनुभएकी उहाँसँग चीन र नेपालबिचको सांस्कृतिक सम्बन्ध र विभिन्न महोत्सवबारे गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
नेपालमा चिनियाँ चलचित्र महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा रहेको सिजाङ पानारोमा खण्ड हिमालयपार दृश्य कला संवाद र आदानप्रदानको एक पहलका रूपमा तयार गरिएको हो । जसले नेपाल र चीनका जनताबिचको दीर्घकालीन मित्रता र छिमेकी सम्बन्धलाई उत्सवका रूपमा मनाउँछ । यसको मुख्य उद्देश्य चलचित्रमार्फत सिजाङको समृद्ध सांस्कृतिक सम्पदा, अद्भुत प्राकृतिक दृश्य र समकालीन जीवनलाई नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्नु हो । विविध चलचित्रको प्रदर्शनीमार्फत यस खण्डले सिजाङको वास्तविक र बहुआयामिक चित्र प्रस्तुत गर्छ । साथै विशिष्ट परम्परा, कलात्मक अभिव्यक्ति, सामाजिक तथा आर्थिक विकासलाई झल्काउँछ । बाह्य कथनमा निर्भर नभई यसले साझा दृश्य कथनमार्फत सांस्कृतिक समझदारी र जनस्तरको सम्बन्धलाई बलियो बनाउँछ । यसले हिमालयका दुवै पक्षका चलचित्रकर्मी, कलाकार र दर्शकबिच अर्थपूर्ण सांस्कृतिक संवादको मञ्च सिर्जना गर्छ । अन्ततः सिजाङ पानारोमाले सिनेमामार्फत नेपाल र चीनबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै कलामार्फत भौगोलिक र सांस्कृतिक सीमा पार गर्ने शक्ति उजागर गर्छ ।
चिनियाँ महोत्सवले चलचित्र र संस्कृतिको प्रवर्धन कसरी गरिरहेको छ ?
यस संस्करणको सिजाङ पानारोमामा विविध विषयवस्तु समेटिएका छन् । उदाहरणका लागि स्नो लियोपार्डले मानव र प्रकृतिबिचको सहअस्तित्व तथा वातावरणीय नीतिमा क्षतिपूर्तिसम्बन्धी विषयलाई उठाउँछ भने वारीय किङ तिब्बती महाकाव्य दी लिजेन्ड या किङ गिजरमा आधारित एनिमेटेड चलचित्र हो । यसका अतिरिक्त हङकङका एक युवाले सिजाङमा मोबाइल फोटो क्युमडियो नामक सामाजिक पहल सुरु गर्न गरेको यात्राको कथा पनि समावेश छ । उनले सडक, गल्ली र गाउँमा घुम्दै स्थानीय बासिन्दाका फोटो खिच्ने, तस्बिर प्रदान गर्ने र आत्मीय संवाद गर्ने अनुभवलाई चलचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको छ । २०२६ जनवरीमा सम्पन्न भएको ‘डिस्कभरिङ सिजाङ २०२६’ नामक छोटो वृत्तचित्रले समकालीन सिजाङलाई चार महादेशका छ देश नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडियाका जेनजीको दृष्टिकोणबाट चित्रण गर्छ । उनीहरूको यात्रा, अवलोकन र अनुभूतिमार्फत चलचित्रले सामाजिक स्थिरता, आर्थिक प्रगति, वातावरणीय संरक्षण, प्रविधिगत विकास, सांस्कृतिक निरन्तरता र अन्तर्राष्ट्रिय सहभागिताको सजीव चित्र प्रस्तुत गर्छ ।
चीन र नेपालबिचका ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध कस्तो देख्नुहुन्छ ?
नेपाल र चीनबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध गहिरो र प्राचीन छ । जुन भूगोल, कला र हिमालयपार आदानप्रदानमा आधारित छ । बौद्ध धर्म यस सम्बन्धको महत्वपूर्ण कडी हो । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरिन्, जसले तिब्बत हुँदै चीनसम्म बौद्ध धर्म फैलाउन महìवपूर्ण भूमिका खेल्यो । फाक्सियान र जुआनजाङ जस्ता चिनियाँ भिक्षुहरू भारत यात्राका क्रममा नेपाल हुँदै गएका थिए । उनीहरूले पवित्र स्थलको अभिलेखन गरे । तेह्रौँ शताब्दीका नेपाली कलाकार अरनिको यस सम्बन्धका उत्कृष्ट उदाहरण हुन् । उनलाई कुब्लाई खानले युआन दरबारमा आमन्त्रित गरेका थिए, जहाँ उनले नेपाली र तिब्बती बौद्ध कला चीनमा परिचित गराए । उनले बेइजिङको मियाओयिङ मन्दिरको श्वेत स्तूप निर्माण गरे, जुन चीन–नेपाल कलात्मक सहकार्यको प्रतीक हो । हिमालयमार्गमार्फत शताब्दीयौँसम्म व्यापार र तीर्थयात्राले धार्मिक ग्रन्थ, मूर्ति र वास्तुकलाको आदानप्रदान गरायो । आज पनि लुम्बिनी जस्ता बौद्ध स्थलहरूको संरक्षणमा संयुक्त प्रयास हुँदै आएको छ । जसले यी सम्बन्धलाई जीवित राखेका छन् ।
दुई देशबिचका महोत्सवमा सांस्कृतिक समानता वा भिन्नता कस्तो देख्नुहुन्छ ?
सांस्कृतिक दृष्टिले, नेपाल र चीन दुवै देशका चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र प्रदर्शन गरिन्छ, जसले व्यापक प्रशंसा पाउँछन् । चलचित्र प्रदर्शनबाहेक चिनियाँ महोत्सवमा कलाकारसँग भेटघाट र लगानीकर्तासँग परियोजना बैठकहरू पनि आयोजना गरिन्छन् । कतिपय चलचित्र आफ्नो प्रिमियर पनि महोत्सवसँगै मिलाएर प्रदर्शन गरिन्छन् ।
चिनियाँ र नेपाली चलचित्रबिच के फरक छ ?
चीनको जनसङ्ख्या नेपालभन्दा धेरै ठुलो भएकाले त्यहाँ चलचित्र हलको सङ्ख्या पनि बढी छ । तथापि दुवै देशका मानिसमा चलचित्र हेर्ने संस्कार छ । नेपाली सिनेमा हलमा आत्मीय र समुदायमुखी वातावरण पाइन्छ, जसलाई दर्शकले मन पराउँछन् । जहाँ चिनियाँ सिनेमा प्राविधिक उत्कृष्टता र बक्स अफिस पहुँचमा अगाडि छ, त्यही नेपाली चलचित्रले आफ्ना सरल, भावनात्मक कथाहरू र दर्शकसँगको नजिकको सम्बन्धमार्फत आफ्नो अलग पहिचान कायम राखेको छ ।