• १३ साउन २०८१, आइतबार

हस्तान्तरण नगर्दै भत्कियो मध्यपहाडी लोकमार्ग

blog

निर्माण नसकिँदै भत्कन थालेको मध्य पहाडी सडक । तस्बिर. सहदेव

सहदेव बस्नेत

जाजरकोट, चैत १० गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको  पुष्पलाल मध्य पहाडी सडक हस्तान्तरण नहुँदै भत्कन थालेको छ । लोक मार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच भत्किन थालेको हो । जाजरकोटको थलह देखि १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौँले भत्किएको सडक मर्मत गर्ने तर्फ कुनै ध्यान दिएको छैन ।

पिच गरिएको सडक भत्किएपछि सडकभित्र यात्रा गर्ने सवारी साधनसमेत दुर्घटना पर्ने डर भएको स्थानीयहरू बताउँछन् । यस निर्माण कम्पनीको २०८० जेठ २४ गते पटक पटक थपिएको म्यादको अन्तिम अवधि रहेको पाइएको छ ।

लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौँका प्रतिनिधि प्रेम लामाले भत्किएको सडक मर्मत गर्न नसकिने बताउनु भएको छ । वर्षामा भत्किएको सडक हामीले कसरी बनाउने भन्दै  लामा उल्टै प्रश्न गर्नुभयो ।  जाजरकोट खण्डमा ८२ किलोमिटर सडक रहेको जाजरकोटमा  अधिकांश ठाउँमा पिचको काम अन्तिम चरणमा पुगे पनि अगाडि बनाउँदै जाँदा पछाडि भत्कँदै गएको छ ।

आफूहरूले वन्दै गरेको सडकको बारेमा मर्मतको लागि आवाज उठाएता पनि कसैले ध्यान नदिएको स्थानीय पवन चनाराको भनाइ छ । स्थानीयवासीले निर्माण व्यवसायीलाई जति दबाब दिए पनि ठेकेदारले कुनै पनि चासो नदिँदा आफूहरू हैरान भएको चनाराको भनाई छ । 

छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापा आफूहरूले बेलाबेलामा अनुगमन गरेता पनि निर्माण कम्पनीको अटेरीपन रहेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।