• १३ साउन २०८१, आइतबार

बेल्जियममा नयाँ बर्षमा नेपाल फेष्टिवल मनाइँदै

blog

केजिन राई 

ब्रसेल्स, चैत १० गते । गैर आवासीय नेपाली सङ्घ बेल्जियमको संयोजनमा नेपाली दूतावास ब्रसेल्स र लुभेन महानगरपालिका मिलेर  नयाँ वर्ष २०८० को अवसर पारेर  ‘नेपाल फेष्टिवल २०२३’ आयोजना गर्ने भएको छ ।

नयाँ वर्षमा बेनेलक्स ,बेल्जियम र सिङ्गो युरोपमा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको हो । युरोपको मुटु मानिने शैक्षिक नगरी लुभेन सहरमा आगामी वैशाख २ गते शनिवारमा आयोजना हुने गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बताउनु भयो ।

सङ्घको  स्थापना कालदेखि नै नेपाल फेष्टिवल आयोजना गर्ने गरेको जानकारी दिँदै यो पटक १४औँ फेष्टिवलको रूपमा आयोजना गर्न लागिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो  । अध्यक्ष केसीका अनुसार फेष्टिवल लुभेन सहरको मुख्य  ट्रेन स्टेसन अगाडि मेतेरप्लेनमा आयोजना  हुने जसमा  नेपाली ब्रसेल्स दुताबासको स्टल ,नेपाली मौलिक नेपाली हस्तकला ,खानाका परिकार , पर्यटन सूचना केन्द्र, लगायत अन्य बस्तुहरूको गरी एक दर्जन भन्दा बढी स्टलहरू  रहने छन्  ।

नेपाल फेष्टिवललाई भब्यरूपमा सपन्न गर्न बेल्जियमस्थित प्रायः सबै नेपाली सङ्घसंस्थाका प्रमुखलाई मूल आयोजक समिति सदस्य बनाइएका छन् । मूल आयोजक समितिमा सङ्घका पूर्व अध्यक्षहरू, बेल्जियमस्थित सङ्घका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू रहेका छन् । बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली दूतावास ब्रसेल्स , लुभेन महानगरपालिका, एक्टिभ इन्टर कल्चरल फेडेरेशन (एआईएफ) र मुण्डमुभ्स प्रमुख प्रायोजकहरू रहेका छन्  ।

‘नेपाल फेष्टिवल व्यवस्थापन समिति’ भने सङ्घका उपाध्यक्ष तीर्थ धमलाको संयोजकत्वमा गठन गरिएको छ  । फेष्टिवलमा व्यापक सहभागिताको निम्ति नेपाली तथा विदेशी  संघ संस्थाहरुलाई पत्राचार गरी सकिएको र बेनेलाक्स स्थित नेपालीहरूको होटेल रेस्टुरेन्ट तथा अन्य ब्यबसायीलाइ प्रचार सामाग्री राख्ने र वितरण गर्दै रहेको संयोजक तीर्थ धमलाले बताउनुभयो  ।

नेपाल फेष्टिवलमा नेपाल पत्रकार महासङ्घ युरोप र नेपाल पत्रकार महासङ्घ बेल्जियम र घटना बिचार मिडिया पार्टनरका रूपमा रहेका छन् । बिहान ११ बजेदेखि प्रारम्भ हुने कार्यक्रममा  विभिन्न नेपाली आदिवासी जनजाति लगायत नेपाली पहिरनसहित परम्परागत  झाँकी, नृत्य प्रस्तुत गर्दै औडी मार्केट-दिन्समार्ग  हुँदै कार्यक्रम स्थल जानेछ ।

नेपाल फेष्टिवल २०२३ बिहान ११ बजे देखि राति १० बजेसम्म सञ्चालन हुनेछ भने अवलोकनका निम्ति बेल्जियमकी राजकुमारी, प्रधानमन्त्री, परराष्ट्र मन्त्री, उप–प्रधानमन्त्री तथा मन्त्रीहरू , बेनेलक्सका  केही नगरपालिकाका मेयरहरू, युरोपियन युनियनका पदाधिकारी, दर्जनौँ देशका राजदूतहरू ,दक्षिण एसियाका कूटनैतिक नियोगका प्रमुखहरू लगायत सङ्घका केन्द्रीय पदाधिकारीहरूलाई महोत्सवमा आमन्त्रण गरिएको अध्यक्ष केसी र संयोजक धमलाले संयुक्त रूपमा बताउनु भयो  ।