• १३ साउन २०८१, आइतबार

‘भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्छ’

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट : सञ्चार मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । फाइल तस्बिर

दिल्ली, चैत ९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ। 

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताउनुभयो। 

मन्त्री शर्माले भन्नुभयो, ‘‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो। हामीले प्रधानमन्त्रीले सम्भवतः भारतबाट नै विदेश भ्रमण गर्नु हुन्छ भनेका छौँ। सरकार विस्तार भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ। अप्रिल महिनामा हुन्छ।’’

उहाँले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताउनुभयो। उहाँले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकामा सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताउनुभयो। 

उहाँले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीले सिम कार्ड निकाल्दा सहजता दिन भारत सरकारसँग आग्रह गरेको बताउनुभयो। उहाँले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीसँग कुरा राखेको बताउनुभयो।

 मन्त्री शर्माले भन्नुभयो, ‘‘भारतका मन्त्रीसँगको कुराकानीमा हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्रसम्म हाम्रो फाइबर बिछ्याउने कुरा र सञ्चार क्षेत्रका विषय उठाएका छौँ। सुनौली नाकाबाट मात्रै धेरैजसो सामान जान्छ, त्यसलाई अन्य नाका पनि सञ्चालन गर्न भनेका छौं। हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत, नेपालीले सिम कार्ड निकाल्दा सहजता दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्नेकुरा उठाएका छौँ।’’ 

भारत अगाडि भए पनि नेपालसमेत डिजिटल युगमा प्रवेश गरेको उहाँको भनाइ छ। यो क्षेत्रमा भारतसँगको सहकार्य आवश्यक रहेको उहाँको जोड छ। मन्त्री शर्माले भन्नुभयो, ‘‘नेपाल पनि डिजिटल युगमा प्रवेश गर्दैछ। भारत यसमा अगाडि छ। प्रविधि हस्तान्तरणमा भारतले नेपाललाई उदारताका साथ हेरोस् भनेका छौं। यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ।’’ 

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयमा सहयोग गरोस् भनेर आग्रह गरेको बताउनुभयो। भारत सरकार आफूले राखेका मागमा सकारात्मक रहेको उहाँको भनाइ छ।