काठमाडौँ, चैत ९ गते । विश्व पानी दिवसको अवसरमा बुधबार काठमाडौँको वसन्तपुरमा राखिएका तस्बिर हेरेर हितिको स्मरण गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका हितिका तस्बिरमा धेरैले भने, ‘पानी भइदिए हुन्थ्यो।’
अलिअलि पानी झरिरहेका हितिका दयनीय अवस्थाले हेर्नेहरूको मन खिन्न पारेर भन्नुभयो, “यो हितिबाट पानी आइदिए कति राम्रो हुन्थ्यो।” सोह्रखुट्टेकी इन्दिरा वस्तीले ३० वर्ष अघिसम्म पनि हितिमा पानीको फोहरा झर्ने गरेको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा तिरका हिति त उहिल्यै सुकिसके। अब खण्डहरजस्तै छन् हिति। यहाँ हेर्दा केहीमा अझै पानी आइरहेको देख्दा खुसी लाग्यो।” उहाँले घरघरमा आउने सार्वजनिक धाराको तुलनामा हितिको पानीको स्वाद नै बेग्लै हुने गरेको बताउनुभयो।
हिति धारामात्र नभएर समुदायको सामूहिकता झल्कन्थ्यो। पानी भर्न आउँदा समुदायको सबै खबर हितिबाटै थाहा हुने गरेको स्थानीयको अनुभव छ। पुराना पुस्ताले बढी उपभोग गरेको हितिको संरचना नयाँ पुस्ताका लागि पनि उत्तिकै मोहयुक्त देखिन्छ। चाबहिलकी प्राश्ना सत्यालले भन्नुभयो, “पानी नआउने हितिमा सेल्फी र तस्बिर खिचिन्थ्यो। अहिले त्यसमा पानी झरिरहेको तस्बिर हेर्दा अनौठो लाग्यो।”
उपत्यकामा जनसङ्ख्या वृद्धिसँगै स्थानीय पानीका स्रोत सुक्दै गएको छ। अहिले वितरण हुँदै आएको आधुनिक धाराको पाइपको अभ्यास सुरु हुनुअघि यहाँ हिति (धारा) प्रणालीमार्फत समुदायमा पानी वितरण हुन्थ्यो। त्यो प्रणालीको खण्डीकरणका कारण अचेल हिति पानीविहीन बनिसकेका छन् भने हिति फोहोर फाल्ने स्थानमा परिणत भएका छन्।
चिवा चैत्य नामक संस्थाले आयोजना गरेको हितिको तस्बिर प्रदर्शनीले हितिको संरक्षणका लागि सचेतना फैलाउन खोजेको संस्थाका सचिव अमर तुलाधरले बताउनुभयो। संस्थाका अध्यक्ष प्रबोध वीरसिंह कंसाकारले नेपालको हिति प्रणालीको संरक्षण गर्न नेतृत्व वर्ग चुकेको बताउनुभयो। उहाँले हितिमार्फत समुदायलाई पानी वितरण गर्ने प्रविधि संसारकै लागि नौलो रहेको र विश्वलाई नै नेपालको यो प्रविधि देखाएर आकर्षण गर्न सकिन्थ्यो तर त्यसमा चुकेको बताउनुभयो। नेपालमा झन्डै एक हजार सात सय वर्षअघि हिति प्रणालीको विकास भएको मानिन्छ। हिति प्रणालीको बारेमा पुस्तक लेख्नुभएको लेखक पद्मसुन्दर जोशीले उल्लेख गर्नु भएअनुसार यो प्रणालीको जन्म किराँतकालहुँदै लिच्छविकालमा विकसित भएको हो। मल्लकालमा यसले थप व्यापकता पायो।
उपत्यका खाल्डोका अधिकांश हिति खाल्डोभित्र बनेकाले यहाँका नेवार समुदायले गाःहिति भन्ने गर्छन्। भित्तामा कुँदिएको गोहीको मुखाकृतिको कलात्मक ढुङ्गाको डुँडबाट पानी झर्छ। एक हितिबाट अरू सहायक हितिमा पानी वितरण पनि गरिन्छ।