• ५ वैशाख २०८१, बुधबार

सरकार गठनको गृहकार्यबारे सत्ता गठबन्धनबीच छलफल हुँदै

blog

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार । फाइल तस्बिर

काठमाडौं, चैत ८ गते। सत्ता गठबन्धनका दलबीच सरकार गठनको प्रक्रिया एवम् यसको गृहकार्यबारे बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको प्रक्रियाको विषयमा सत्ता साझेदार दलहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लाग्नुभएको हो।  

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले बुधबार दिउँसो ४ बजेपछि प्रधानमन्त्रीले विभिन्न पार्टीसँग छलफल गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो।

उपाध्यक्ष हमालले भन्नुभयो, “सरकार गठनको प्रक्रियाको विषय अगाडि बढ्दैछ। त्यसैले गर्दा, विभिन्न पार्टीसँग प्रधानमन्त्रीज्यूले छलफल गर्ने, सत्ता साझेदार दलसँग प्रक्रिया सुरु गर्नुभएको छ।”

एकीकृत समाजवादीको मङ्गलबार बसेको सचिवालय बैठकले सरकार गठनको प्रक्रियामा सहभागी हुन पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा उपाध्यक्ष प्रमेश हमाल र वेदुराम भुसाल गरी तीन सदस्यीय कार्यदल गठन गरेको छ। 

समाजवादीले प्रमुख मन्त्रालयसहित अबको सरकारमा सहभागी हुने दाबी गरेको छ। अहिले सरकारमा नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरू सहभागी छन्।