• १३ असोज २०८१, आइतबार

विद्यालय र अस्पतालमा मापसे परीक्षण गरिने

blog

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ।

राजकुमार भट्टराई 

खोटाङ, चैत ८ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगीहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परीक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो ।  

मङ्गलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परीक्षण गर्ने मेसिन खरिद गर्ने निर्णय गरेको हो । नगरपालिकाले ७ वटा मेसिन खरिद गरेर नगरभित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । 

"केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । विद्यालयका प्रधानाध्यापकले वार्षिक परिक्षाको प्रश्नपत्र नै मापसे गरेर सिरानी लगाएर सुत्ने, स्वास्थ चौकीमा केही स्वास्थ्यकर्मी पनि मापसे गरेर आउने, अझ वडा कार्यालयमा समेत सहयोगी कर्मचारीहरु मापसे गरेर कार्यालय नै नियमित नआउने गरेको गुनासो आएपछि हामीले अब मापसे परीक्षण गर्ने निर्णय गरेका छौँ," मेयर राईले भन्नुभयो । 

यस्तै, सार्वजनिक ठाउँहरुमा प्रायः मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेसिन खरिद गर्न लागिएको उहाँको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परीक्षण गर्नेछ ।  मापसे गरेको पाइएमा आवश्यक कारवाही अघि बढाइने मेयर राईले बताउनुभयो ।

नगरपालिकाले मेसिन खरिद गरेपछि मापसे परीक्षणका लागि प्रहरीले मुख सुँघ्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।