वि.सं. २००३ को माघमा कलकत्तामा सम्पन्न महाधिवेशनले विधिवत् नेपाली राष्ट्रिय कांग्रेसको स्थापना ग-यो। त्यसबाट उत्साहित भएर वा नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य, नीति र कार्यक्रमलाई जनसमक्ष पु-याउन विलम्ब गर्नुहुन्न भन्ने निष्कर्षमा आएर गिरिजाप्रसाद कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको डेढ महिना पनि नपुग्दै विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ गर्नुभयो। राणातन्त्रको विरोधमा साहसका साथ अघि आएर नेपाली जनताले आफ्नै भूमिमा गरेको यो पहिलो आन्दोलन थियो। यसले देशभरि सङ्घर्षको सन्देश प्रवाहित ग-यो। सशक्त किसिमले सञ्चालन भइरहेको यो आन्दोलनलाई सहयोग पु-याउन नेपाली राष्ट्रिय कांग्रेसका कार्यवाहक सभापति बीपी कोइराला र अरू नेता पनि विराटनगर आउनु भयो। काठमाडौँबाट गएको सेनाको टोलीले बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ ग-यो। त्यसको विरोधमा मजदुरले जुलुस प्रदर्शन गरे। सेनाले शान्तिपूर्ण रूपको जुलुस माथि गोली चलायो। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरू धेरै घाइते भए। आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत चार जना महिला एवं नेपाली राष्ट्रिय कांग्रेसका नेताहरू–वालचन्द्र शर्मा र गोपालप्रसाद भटट्राई तथा केही मजदुर नेतालाई पक्राउ गरियो। आन्दोलन अझ सशक्त रूपले अघि बढ्यो। शीघ्र सबै बन्दीलाई रिहा नगरे २००४ को वैशाख १ देखि देशव्यापी रूपमा सत्याग्रह गर्ने र तत्काल मजदुर आन्दोलन रोक्ने नेपाली राष्ट्रिय कांग्रेसको कार्यसमितिले निर्णय ग-यो। यथाशीघ्र कसैलाई रिहा गरिएन। देशको राजधानी काठमाडौँ उपत्यका लगायत धेरै ठाउँमा सत्याग्रह प्रारम्भ भयो। धेरैलाई पक्राउ गरियो। तर सत्याग्रह अझ सशक्त किसिमले अघि बढ्यो। अन्ततः सत्याग्रहले राणा प्रधानमन्त्री ‘श्री ३’
पद्मशमशेरलाई राजबन्दीको रिहा गरेर, वैधानिक सुधार गर्छु भन्न बाध्य पा-यो। नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रह रोक्ने निर्णय ग-यो। तर पद्मशमशेरले आफ्नो कवुल पालन गरेनन्। २००४ को भाद्रमा अस्वस्थताको कारण बीपीको रिहा हुनुभयो। लामो अनशनपछि मात्र २००६ को मङ्सिरमा गिरिजाप्रसाद समेत पाँच जनालाई रिहा गरियो।
गिरिजाप्रसाद रिहा भएर आउँदा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीचमा एकीकरणको प्रक्रिया प्रारम्भ भइसकेको थियो। यी दुवै पार्टी जन–क्रान्तिको आवश्यकता महसुस गरिरहेका थिए र त्यसको तयारीमा लागिसकेका थिए। यी दुई पार्टीको एकीकरणबाट नेपाली कांगे्रसको गठन भयो। नेपाली कांग्रेसले विराटनगरलगायत पूर्वाञ्चलका धेरै जिल्लाको क्रान्तिको तयारीको जिम्मा गिरिजाप्रसादको टोलीलाई दिएको थियो। गिरिजाप्रसादलाई २००७ को असारमा विराटनगरमा पक्राउ गरियो र त्यहाँको सैनिक ब्यारेकमा राखियो। केही दिनपछि ठूलो जोखिम उठाएर उहाँ सेनाको बन्दुकबाट गोली चल्दाचल्दै ब्यारेकबाट उम्कनु भयो। भारतको जोगवनी र फारवीसगञ्जमा रहेर उहाँले क्रान्तिको तयारी गर्नुभयो।
२००७ को ऐतिहासिक जन–क्रान्तिले देशमा प्रजातन्त्रको स्थापना ग-यो। तर त्यसको एक वर्ष पनि नपुग्दै जन–क्रान्तिको उपदेयतालाई कुण्ठित पार्ने षड्यन्त्र हुन थाले। किसान आन्दोलन र अरू आन्दोलनबाट गिरिजाबाबुले प्राप्त उपलब्धिको संवद्र्धनका लागि सङ्घर्ष गरिरहनु भयो। त्यसैमा उहाँलाई केही पटक विराटनगरमा पक्राउ गरियो। पछि छाड्ने आदेश दिइयो। चुनावको तिथि घोषणा गरियोस् भन्ने माग राखेर कांग्रेसले २०१४ को मङ्सिरमा देशको सम्पूर्ण जिल्लामा भद्र अवज्ञा आन्दोलन सुरु ग-यो। मोरङ जिल्लामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन भएको थियो। मोरङको आन्दोलनबाट अरू पनि धेरै जिल्ला प्रभावित थिए। भद्र अवज्ञा आन्दोलनले राजा महेन्द्रलाई चुनावको तिथि तोक्न बाध्य पारेको थियो।
२०१५ को आमचुनावमा गिरिजाप्रसाद चुनाव लड्नु भएन। उहाँलाई पार्टीले पूर्वाञ्चलको निर्वाचन सहयोग समितिको संयोजकको जिम्मेवारी दिएको थियो। उहाँले अरू पनि धेरै ठाउँमा पुगेर कांग्रेसका उम्मेदवारलाई सहयोग पु-याउनु भएको थियो। २०१५ को निर्वाचनमा नेपाली कांग्रेसको अत्यधिक विजयमा उहाँको महत्वपूर्ण सहयोग थियो।
२०१७ पुस १ गते राजा महेन्द्रले सम्पूर्ण देशलाई एउटा ठूलो कारागारमा परिणत गराए। गिरिजाप्रसाद कोइरालालाई पुस २ गते काठमाडौँमा पक्राउ गरियो। त्यसको छ वर्षपछि २०२३ मा सुरक्षा कानुनअन्तर्गत जेलमा रहेका सबैलाई शान्तिपूर्ण रूपमा रहने कागज गराएर छाडियो। त्यो कागजमा गिरिजाबाबुले सही गर्नुभएन। त्यसको एक वर्षपछि २०२४ को पुसमा, २४ दिनको आमरण अनशनपछि मात्र उहाँको रिहा भयो। २०२८ देखि उहाँ निर्वासनमा रहनु भयो। त्यस बेला पनि बीपी, गणेशमान सिहं, गिरिजाप्रसाद लगायत अरू पनि नेताको हत्या गर्न सरकारले अनेक पटक पेसेवार हत्यारा परिचालन गरिरह्यो। यही क्रममा सरोजप्रसाद कोइरालालाई २०३० को कात्तिक २ गते भारतको मधुवनीमा हत्या गरियो।
२०३७ को आममाफीपछि गिरिजाप्रसाद स्वदेश फर्कनु भयो। पार्टीको सङ्गठनलाई अगाडि बढाउन उहाँ देशको धेरै भागमा पुग्नु भयो। धेरै ठाउँमा उहाँलाई आक्रमण गरियो। हत्या गर्न खोजियो। २०४० को फागुनमा रूपन्देहीको सुरजपुरामा उहाँको हत्या गर्ने योजना बनाइयो। हत्या गर्न खटाइएका केहीले तथ्यगत सूचना प्राप्त गर्न नसकेकाले र नेपाली कांग्रेसका कार्यकर्ताको आफू मर्न परे पनि आफ्ना नेतालाई जोगाउने प्रतिबद्धताले उहाँ हत्याबाट जोगिनु भयो। २०४० को फागुन २१ गते काठमाडौँ फर्केपछि सुरजपुरामा सरकारबाट भएका हिंसात्मक आतङ्कको विरोधमा नेपाली कांग्रेसले सत्याग्रह गर्ने निर्णय ग-यो। २०४२ को जेठ १० देखि सत्याग्रह सुरु भयो। गणेशमान सिंह, कृष्णप्रसाद भटट्राई र गिरिजाप्रसाद तथा नेपाली कांग्रेसका अरू हजारौँ कार्यकर्तालाई पक्राउ गरियो। कम्युनिस्ट पार्टीका नेताहरू–मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मासमेत उहाँहरूका पार्टीका कार्यकर्ताले पनि आफ्नो गिरफ्तारी दिएर सत्याग्रहमा भाग लिएका थिए। यसले निर्दलीय निरङ्कुशताको विरोधमा सबै राजनीतिक पार्टीहरू
सङ्गठित भएर आन्दोलन गर्न आवश्यक छ भन्ने कुराको सबैलाई बोध गरायो। सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ को ऐतिहासिक जन–आन्दोलनलाई एकताबद्ध गर्ने वा त्यसको पहिलो चरण भएर आउने यही २०४२ को सत्याग्रह थियो।
राजा ज्ञानेन्द्र निरङ्कुश भएर आएपछि गिरिजा बाबुकै नेतृत्वमा अर्को जन–आन्दोलन प्रारम्भ भयो। त्यसबेलासम्म गिरिजाबाबुकै विशेष सक्रियतामा सात पार्टीको सहकार्यबाट १२ बुँदाको सहमति भइसकेको थियो। माओवादी शान्तिपूर्ण तवरले अवतरण गर्ने स्थितिमा पुगिसकेका थिए। उनीहरू पनि जन–आन्दोलनमा सरिक हुँदै थिए। जन–आन्दोलनको प्रारम्भिक दिनमा गिरिजाबाबुले भन्नुभएको थियो– “मैले जस्तै, जीवनभरि अबको पुस्ताले आफ्नो अधिकार प्राप्तिको लडाइँ लडिरहन नपरोस्। मलाई त्यति भए पुग्छ।”
गिरिजाबाबुले आफ्नो जीवनभरि लामो सङ्घर्ष गर्नुभयो। उहाँको राजा त्रिभुवनसँगको सङ्घर्ष केही मत्थर थियो होला। अरू तीनवटा राजासितको सङ्घर्षमा उहाँले सधैँ आफ्नो प्राणलाई बाजीमा राख्नु परेको थियो। उहाँको विश्वास थियो–जनता र राजाका बीचको सङ्घर्षमा जित सधैँ जनताको भएको छ। जनता कहिल्यै हार्दैनन्। राजा ज्ञानेन्द्रसितको सङ्घर्षमा पनि जित जनताकै भयो।
जेठ १५ गते जनताको जित साकार भएको दिन थियो। देशको प्रधानमन्त्रीको हैसियतले गिरिजाबाबुले भन्नुभएको थियो, आज मेरो सपना साकार भएको दिन हो। जनताको जितले वैधता पाएको दिन हो। उहाँले त्यसको केही पछि २०६५ को असार १२ गते आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर, संसद्मा सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई सरकार निर्माण गर्न आह्वान गर्नुभएको थियो। त्यस दिन उहाँले संसद्मा उभिएर भन्नुभएको थियो –‘‘छ दशक लामो सङ्घर्ष, अनेकौँ सपुतको बलिदान तथा सम्पूर्ण नेपाली जनताको देशभक्तिको भावना एवं उहाँहरूको ठूलो त्याग र तपस्याले आज हाम्रो देशमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको दरिलो जग खडा भएको छ। यी ऐतिहासिक उपलब्धिलाई संस्थागत रूपले अघि बढाएर, त्यसैको मूल आधारमा नयाँ संविधान निर्माण गरी, नेपाललाई–नयाँ, शान्त, समुन्नत र समावेशी नेपालमा रूपान्तरण गर्न इतिहासले हामी प्रत्येक नेपालीलाई थप जिम्मेवारी सम्पेको छ। हाम्रो एकता, पारस्परिक सहयोग, सहमति र सद्भाव तथा आपसी विश्वासबाट नै, हामीले यो जिम्मेवारीलाई पूरा गर्न सक्ने छौँ।
गत जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकमा नेपालको अन्तरिम संविधानबमोजिम गणतन्त्रको कार्यान्वयनसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा, मैले संविधान सभाको निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दलको रूपमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई संवैधानिक प्रावधानअनुरूप सहमति कायम गरी, नयाँ सरकार गठन गर्न आह्वान गरेको थिएँ। यो गरिमामय सभामा पुनः म आफ्नो आह्वानलाई दाहो-याउँदै, संवैधानिक व्यवस्थाअनुसार नै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु। विगतका अनेक सङ्कट, द्वन्द्व र अशान्तिलाई समाप्त पारेर हामी एउटा महìवपूर्ण मोडमा आइपुगेका छौँ। यद्यपि कतिपय विषय र समस्याको अझै पनि उचित तवरले सम्बोधन हुन सकिरहेको छैन। आपसी एकता र पारस्परिक विश्वासलाई अझ दरिलो पार्दै हामीले सहकार्यको संस्कृतिको विकास गरी, यी सबै समस्याको समाधान गरेर, नेपाललाई नयाँ उचाइमा पु-याउन सक्नेछौँ। यी सबै कार्यमा मेरो सदैव सहयोग रहिरहने छ।
हिंसा र द्वन्द्वका घाउहरूलाई मेटाइ, शान्तिपूर्ण वातावरण, उदार राजनीतिक मूल्य र मान्यता, विधिको शासन, मानव अधिकारको रक्षा, प्रेसको स्वतन्त्रता तथा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धालाई आत्मसात् गरेर नै लोकतान्त्रिक पद्धतिलाई सर्वग्राह्य रूपमा अघि बढाउन सकिनेछ।’’
लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ।