काठमाडौँ, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताउनुभएको छ । बैङ्क, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा हुनुपर्ने उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाको समीक्षा आवश्यक छ । अनि मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ ।”
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कुनै समयमा लघुवित्तले ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको चर्चा गर्दै अहिले जनताले लघुवित्तप्रति प्रश्न उठाएको र सहकारीमा पनि समस्या देखिएको बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरणमा प्रधानमन्त्रीले जोड दिनुभयो ।