• ७ पुस २०८२, सोमबार

शङ्ख बजाउन प्रशिक्षण

blog

बुटवल समाचारदाता

बुटवल, पुस ७ गते । धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बुटवलमा सामूहिक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी पूजा सामग्री भण्डार बुटवलले आयोजना गरेको शङ्ख बजाउने प्रशिक्षणमा नेपाल र भारतका गरी २५० प्रशिक्षार्थी सहभागी थिए । 

सो अवसरमा २० जना प्रशिक्षकले विभिन्न समूहमा प्रशिक्षार्थीलाई विभाजन गरी शङ्ख बजाउने अभ्यास गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलो पटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठुलो टेवा पु¥याउने बताउनुभयो । 

प्राध्यापक डा. बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणमा शङ्खको महिमा, स्थान र कथा प्रसङ्ग भएकाले शङ्ख नेपालको संस्कृति, परम्परा रहेको उल्लेख गर्नुभएको थियो । 

विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले घर घरमा शङ्ख भएर पनि बिहान साँझको नित्य पूजामा शङ्ख बज्न छोडेको, इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत शङ्ख बज्न छाडेकाले शङ्ख बजाउने  प्रशिक्षण दिएको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थीले जीवनमै पहिलो पटक यसरी विभिन्न कला स्वरसहित निःशुल्क शङ्ख बजाउन तालिम पाएकोमा अत्यन्त खुसी लागेको बताएका थिए ।