अमरराज नहर्की
तनहुँ, पुस ७ गते । हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तथा मोक्षस्थलका रूपमा मानिने प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते बृहत् कार्यक्रमको आयोजना गरी देवघाटधामलाई औपचारिक रूपमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीको संगमस्थल देवघाटधामलाई हिन्दू शास्त्रमा विशेष पुण्यभूमि मानिन्छ । यहाँ स्नान, दान, पूजा–पाठ र अन्त्येष्टि गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । देशका विभिन्न भाग तथा भारतलगायत बाह्य मुलुकबाट समेत हजारौँ तीर्थालु देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने गर्छन् ।
तनहुँ, चितवन र नवलपुर जिल्लाको सिमानामा फैलिएको देवघाट क्षेत्रलाई स्वच्छ, पवित्र र मर्यादित तीर्थस्थलका रूपमा संरक्षण गर्न देवघाट क्षेत्र विकास समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा आइतबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको संयोजनमा सम्पन्न सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, धार्मिक क्षेत्रका प्रतिनिधि, गुरुकुल तथा आश्रमका प्रतिनिधि र विभिन्न सङ्घ–संस्थाको सक्रिय सहभागिता थियो ।
देवघाटधाममा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फूल, प्रसाद र पूजा सामग्री ल्याई नदी किनारमै फाल्दा वातावरणीय प्रदूषण बढ्दै गएको भन्दै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यस क्षेत्रलाई प्लास्टिक निषेधित बनाउन पहल गरिएको बताउनुभयो । पवित्र तीर्थस्थलमा प्लास्टिकजन्य फोहोरले धार्मिक गरिमा र प्राकृतिक सौन्दर्यमा आँच पुगेकाले पुस ११ गते विशेष कार्यक्रमसहित घोषणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा अभियान सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरी लौडारीले बताउनुभयो । त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहोर फालिँदा नदी प्रदूषित हुनुका साथै जलचर र जैविक विविधतामा गम्भीर असर परेको उहाँको भनाइ छ ।
देवघाटधाम टाढा–टाढाबाट तीर्थालु आउने पवित्र स्थल भएकाले यहाँको स्वच्छता र शुद्धता जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष लौडारीले प्लास्टिक नियन्त्रणले नदीलाई स्वच्छ, निर्मल र जीवन्त राख्न मद्दत पुग्ने बताउनुभयो। फोहोर व्यवस्थापनमा लापरबाही भए जलचरमा गम्भीर समस्या आउने उहाँले चेतावनी दिनुभयो ।
प्लास्टिक प्रयोग निरुत्साहन गर्न देवघाट क्षेत्र विकास समितिले नदी स्नान प्रवेशद्वारमा कपडाका झोला वितरण गर्दै आएको कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । तर झोला वितरण मात्र पर्याप्त नहुने भन्दै घरबाटै प्लास्टिक नबोक्ने संस्कार विकास गर्न जनचेतना आवश्यक रहेको उहाँको भनाइ छ । यस अभियानमा देवघाटसँग सम्बन्धित तीनवटै जिल्लाका पालिकाले बजेट विनियोजन गरी सहयोग गरेको उहाँले बताउनुभयो ।
नारायणी नदीको सरसफाइलाई व्यवस्थित बनाउन तीन वर्षदेखि काम भइरहेको र हाल ‘नदीसँगै हामी अभियान’ मा १३ संस्था आबद्ध रहेको जानकारी दिँदै अहिलेसम्म १५० भन्दा बढी सरसफाइ कार्यक्रम सम्पन्न गरिएको बरालले उल्लेख गर्नुभयो ।
देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकासँग निरन्तर छलफल भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले बताउनुभयो । प्लास्टिक नियन्त्रणका लागि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा रोक लगाइने उहाँले जानकारी दिनुभयो ।
पवित्र देवघाटधामको धार्मिक गरिमा, प्राकृतिक सौन्दर्य र वातावरणीय शुद्धता जोगाउन यो अभियान महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।