१.
सुनकोशी सुनजस्ती, तामाकोशी तामाजस्ती
अटल लाग्छिन् गौरीशङ्कर, मेरै आमाजस्ती ।
तोरी फुल्दा मधेशझैँ कस्ती मग्मगाउँछिन्
जूनकीरीझैँ अँधेरीमा ज्योति जग्मगाउँछिन्
हिमालको चिसो हावा सजाउँदै यो शिरमा
गुराँसझैँ हाँस्दै बाँचौँ लेकाली त्यो भीरमा ।
जुही फुल्दा ब्याँसीभरि फुल्छ यो मन पनि
इन्द्रेनीलाई फन्को हाल्दै हाँस्छ रनवन पनि
आमा हाँस्दा हिमाल हाँस्छिन्, हुँदै धेरै खुसी
सजाउँदै केशभरि मैदान, लेकै–ब्याँसी ।
२.
‘झुल्के घाममा म जन्मे’थेँ’, भन्थिन् मेरी आमा
म जन्मेको बार–महिना गन्थिन् मेरी आमा ।
मझेरीमा टुकी बाली भित्र्याउँथिन् उज्यालो
अँधेरीलाई चिर्दै हर क्षण बाल्थिन् नै दियालो
ममताको विशाल ज्योति बन्थिन् मेरी आमा
‘झुल्के घाममा म जन्मे’थेँ’ भन्थिन् मेरी आमा ।
घा“ससँगै हाम्रा पनि दुःख काट्न खोज्थिन्
जूनसँगै हाम्रा सारा माया साट्न खोज्थिन्
पीर पुर्ने खाडलहरू खन्थिन् मेरी आमा
‘झुल्के घाममा म जन्मे’थेँ’ भन्थिन् मेरी आमा ।