• १३ साउन २०८१, आइतबार

पश्चिमी वायुको प्रभाव : उपत्यकासहित देशभर वर्षा

blog

पानी परेपछि छाता ओढेर गन्तव्यतर्फ जाँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ३ गते। अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२४ घण्टामा विपद्का २० घटना

पछिल्लो २४ घण्टामा  २० वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा १७ स्थानमा आगलागी र तीन स्थानमा चट्याङ्ग सम्बन्धी घटना भएको जनाएको छ। 

चट्याङ्गबाट सल्यान र प्युठानमा तीन जना र आगलागीबाट रुपन्देही र कपिलवस्तुमा दुई जना गरी पाँच जना घाइते भएका छन्।  घटनाबाट ४८ लाख लाख बढीको क्षति भएको अनुमान गरिएको छ। 

त्यस्तै, बिहीबार चट्याङ्गबाट पाँच जना घाइते भएका थिए।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ्गबाट धनकुटा, पाँचथर र सङ्खुवासभा गरी तीन जिल्लामा पाँच जना घाइते भएका हुन्। 

विभिन्न नौ स्थानमा आगलागी,आठ स्थानमा चट्याङ्ग र १ स्थानमा हावाहुरीले क्षति गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १८ स्थानमा विपतका घटना हुँदा ९७ लाखको क्षति भएको अनुमान गरेको छ। प्राधिकरणका अनुसार नेपालमा हरेक वर्ष एक सय जना भन्दा बढी मानिसको चट्याङले मृत्यु हुन्छ।