• ८ मंसिर २०८१, शनिबार

'कला क्षेत्रलाई समृद्ध बनाउन कलाकार सङ्घमा मेरो उम्मेदवारी'

blog

काठमाडौं, चैत २ गते । चलचित्र कलाकार सङ्घको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कलाकार मोहन निरौलाले प्यानल घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिनुहुने अन्यको नाम पनि सार्वजनिक गर्नुभएको हो । 

कलाकार सङ्घका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत रहनुभएका कलाकार निरौला विगत ४४ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । टेलिसिरियल देवीहरू, जीवन चक्र, भावना, राप तथा चलचित्र जन्मभूमि, सन्तान, फेरि भेटौँला र आफ्नै निमार्णमा चलचित्र पुकार लगायत करिब ६ दर्जन चलचित्रमा निरौलाले अभिनय गरिसक्नुभएको छ । 

उहाँ भन्नुहुन्छ, “कलाकार सङ्घको अध्यक्ष पदमा मेरो उम्मेदवारीको मूल उद्देश्य कलाकारको मानसम्मान र हकहितको विषयमा काम गर्नु नै हो ।” कतिपय कलाकारहरू आर्थिक रूपमा विपन्न छन्, कलाकारका बिमाका विषय, कलाकार सङ्घको भवन तथा कार्यालय व्यवस्थापन, अन्तर्राष्ट्रिय विज्ञद्वारा प्रशिक्षण दिने व्यवस्था मिलाउने, कलाकारहरूलाई मिडिया मैत्री बनाउने, लैङ्गिक हिंसाको अन्त्य गर्ने तथा सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले आफ्नो एजेण्डा बनाउनुभएको छ ।

यस्तै, आफू सिर्जनात्मक क्षेत्रमा लागेकोले सिर्जनाका क्षेत्रमा कुनैपनि उमेरको हद नहुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यसमा बालक पनि दिग्गज हुनसक्छ भने वृद्ध पनि अज्ञानी हुनसक्छ । यी दुई वटैलाई समन्वय गर्दै लैजाने उद्देश्यले मैले कलाकार सङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।” 

“संस्थागत सुरक्षा र पेसागत मान सम्मानसँगसँगै कला क्षेत्रलाई पनि समृद्ध बनाउँछु भन्ने मेरो विश्वास छ,” उहाँले भन्नुभयो ।  

यसबाहेक उहाँको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा कलाकार सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य हुनुहुन्छ । सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्य भने निर्विरोध निर्वाचित हुनुभइसकेको छ ।

यस्तै, सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्य प्रसाद पाण्डे प्रेम, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जङ्गम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान बुद्धिमान र समीर लामा हुनुहुन्छ । 

बुधबार अध्यक्ष पदकाे अर्की उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गर्नुभएको थियो । यस्तै, कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अङ्कित डिजिटल कार्ड वितरण गर्ने, सङ्घको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, कलाकारहरूको हकहित र व्यक्तित्व विकास, कलाकारहरूको आर्थिक अवस्थालाई ध्यानमा राखेर गरिने मद्दत लगायत उप्रेतीका एजेण्डा छन् ।