• १३ साउन २०८१, आइतबार

अध्ययन तथा अवलोकनको गन्तव्य होमस्टे

blog

कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी होमस्टे । तस्विर : मीना कँडेल ।

मीना कँडेल 

कावासोती चैत १ गते । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूल मालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरूङ्ग हुने गर्दछ ।

सीमान्तकृत समुदायमा पर्ने थारुसहित बोटे, मुसहरलगायतका जातजातिको बसोवास रहेको यस ठाउँको अमलटारी सामुदायिक होमस्टेसँगै यो गाउँ पनि गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

थारु समुदायद्धारा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्दछ । सुरुमा साढे तीन लाखको लागतमा निमार्ण भएको यो होमस्टे अहिले ६ लाख बराबरको लागतमा निर्माण भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्द्निया थारुले जानकारी दिनुभयो । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बनेको उहाँको भनाइ छ  ।

थारु समुदायका व्यक्तिहरुको सक्रियतामा सञ्चालित यहाँको होमस्टेमा पुग्ने पर्यटकले कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउने गरेका छन्। यहाँका गाउँलेको जीवन फेरिएको छ । होमस्टे सञ्चालन भएपछि धेरै युवाहरुले रोजगारी पाएको व्यवस्थापक पिङ्की बोटेले बताउनुभयो  ।

होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । 

अध्यक्ष थारु भन्नुहुन्छ, "संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरू गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकहरुले अहिले होमस्टे भरिभराउ हुन्छन् ।"

नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस होमस्टेलाई नेपालकै उत्कृष्ट घाेषणा गरी पुरस्कृत गरेको थियो । अमलटारीलाई सरकारले गाउँ गन्तव्य २०७२ घोषित गरेपछि राष्ट्रिय स्तरका कार्यक्रमसमेत होमस्टेमा नै हुने गरेको छ । प्रायः स्वदेशी पर्यटकहरु यस होमस्टेमा बस्ने गरेका छन् । 

होमस्टे बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरकाे कावासोती डण्डाबाट करिब ७ किलोमिटर दक्षिणमा छ । २०७० सालमा १८ वटा घरबाट सुरू भएको होमस्टेमा अहिले ३१ घर पुगेकाे छ ।