टोकियो, चैत १ गते । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका मङ्गलबार संसदबाटै निष्कासन गरिएको हो ।
गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि जापानको माथिल्लो सदनले मङ्गलबार निष्कासन गरेको हो । सदनको हिजोको उक्त निर्णय आज (बुधबार)देखि लागू भएको छ ।
गाँसी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद हुनुभएको छ । यसअघि सदनले उहाँलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उहाँले त्यसको बेवास्ता गर्नुभएको थियो । ५१ वर्षीय उहाँको दलबाट दुई जना सांसद निर्वाचित छन् । उहाँ निष्कासित भए पनि अर्को एक सदस्यले उहाँको स्थानमा काम गर्नुहुने छ ।
दुबईमा बसोबास गरिरहनुभएको पूर्व व्यापारी उहाँले जापान फर्किए पक्राउ पर्ने बताउनुभएको छ । मानहानिको आरोपमा उहाँलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उहाँले बताउनुभएको छ । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उहाँको दल एनएचके पार्टीका रूपमा परिचित थियो । रासस/एएफपी