• ५ पुस २०८२, शनिबार

बाँकेमा शीतलहर सुरु

blog

हुस्सु र कुहिरोले ढाकेको बाँके । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ५ गते । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर यहाँबाट संघीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने उडान प्रभावित बनेका छन् ।  

शुक्रबार बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै शीत लहर समेत चल्न थालेपछि चिसो बढ्दै गएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले जानकारी दिनुभयो । 

उहाँले बाँकेमा “शीतलहर आकस्मिक योजना“ २०८२ स्वीकृत गरेर लागु गरि सकिएकोले शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन सुरु गरिने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी तामाङले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनिहरुलाई जोगाउनका लागि स्थानीय तहहरुलाई आग्रह गरिसकिएको बताउनुभयो । 

बाक्लो हुस्सु र कुहिरोका कारण शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट काठमाडौं, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान रद्द गरिएका थिए । 

नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।