• ५ पुस २०८२, शनिबार

पोखरा पर्यटन प्रबर्धनबारे फोनिजको अन्तरक्रिया

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

गोरखापत्र अनलाइन

पोखरा, पुस ५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा पर्यटन वर्ष २०२५ प्रवर्धन बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

फोनिजको आयोजना, फोनिज गण्डकी र कास्कीको समन्वयमा शनिबार पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । 

पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । 

नेपाललाई पर्यटन क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको बताउँदै उहाँले मिडियालाई पर्यटन अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उहाँको भनाइ छ । 

कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताउनुभयो । पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा दिइरहेको उहाँको भनाइ छ । 

यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो लक्ष्य पूरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’ 

फोनिजका सल्लाहकार उजीर मगरले पर्यटन वर्ष २०२५ मनाइ रहँदा पोखरा महानगरले पोखरालाई मात्र केन्द्रिकृत नगरी अन्य ठाउँको पर्यटन प्रवर्धनमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

फोनिजका अर्का सल्लाहकार डण्ड गुरुङले बाह्य पर्यटकहरु नेपालको सिमिन्टेड घर हेर्नुभन्दा यहाँका आदिबासीको सभ्यता, संस्कृति, रहनसहनमा आकर्षित रहेको बताउनुभयो । आदिबासीको संस्कृति प्रवर्धनमा सरकारले ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । 


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरीले यहाँको पर्यटन प्रवर्धनमा आदिबासीको ज्ञान, सीप, कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभयो । आदिबासी समुदायको कला, संस्कृति, ज्ञान र सीपलाई प्रवर्धन गरेर पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको सुझाव छ ।

फोनिजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय महासचिव समीर बलामी, पोखरा वडा २२ का अध्यक्ष हिमलाल बडाल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङ लगायतले धारणा राख्नुभएको थियो ।