• २५ चैत २०८२, बुधबार

तीन महिनाका ३० उपलब्धि सार्वजनिक

मुलुकमा सबैतिर निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत आफूले मन्त्रालय सम्हालेको तीन महिना पूरा भएको अवसरमा मन्त्रालयबाट भए गरेका कामबारे जानकारी गराउनु हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ,पुस ६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमा होमिएको दाबी गर्नु भएको छ।

ठुला राजनीतिक दलले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उहाँले सो दाबी गर्नु भएको हो। आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले यस्तो बताउनु भएको हो।

सञ्चारमन्त्री खरेलले भन्नु भयो, ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ । सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ ।’ 

राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उहाँको भनाइ छ। सञ्चारमन्त्री खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गर्नुभयो। उहाँले सरकार जेनजी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहोर्‍याउनु भयो। 

‘आगामी फागुन २१ मा चुनाव हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ’, उहाँले भन्नुभयो, ‘ भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भइ नै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।’

मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो । उहाँले सो अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको बताउनुभयो । 

मन्त्री खरेलले भन्नुभयो, “धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।”     

यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा ‘फोरजी’ सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिनुभयो । 

यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटतर्फ काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको मन्त्री खरेलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा १५ वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तारलगायतका कार्य सम्पन्न गरिएका उहाँले बताउनुभयो ।     

मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलनको क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका उपलब्धि सार्वजनिक गर्नुभयो ।  

उक्त अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताउनुभयो ।