• १३ असोज २०८१, आइतबार

सुरक्षित नागरिक आवासका लागि गाउँमै सम्झौता

blog

गाउँमा पुगेर योजना कार्यान्वयनका लागि सम्झौता गर्दै नगरपालिकाको टोली । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, चैत १ गते ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको थालनी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनौट भएका लाभग्राहीहरुको सहजताका लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख शेरप्रसाद ढकालले नगरपालिका –१४ मा पुगेर कार्यक्रम कार्यान्वयनका लागि सम्झौताको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि छनाेट भएका १४ नम्वर वडाका ४७ घरपरिवारमध्ये ४२ घरपरिवारसँग सम्झौता गरिएको छ । नगर कार्यपालिकाको कार्यालयबाट खटिएको टोलीले निरन्तर अन्य वडामा पुगेर सम्झौताको काम गर्ने बताइएको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले वडा सिफारिस, फोटो प्रिन्ट, प्राविधिक लागत इस्टिमेट, सम्झौता, बैंक खाता सञ्चालनलगायतका सेवा गाउँमै पुगेर एकै ठाउँबाट प्रदान गरिएको बताउनुभयो । टोलीले ४२ घरपरिवारसँग कार्यक्रम कार्यान्वयनको सम्झौता र ३६ जना लाभग्राहीको बैंक खाता सञ्चालन गरेको छ ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले नगरपालिकाले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष २३० वटा घर खरका छानामुक्त बनाउन लागेको बताउनुभयो । उहाँले पानी चुहिने, हावाहुरी र आगलागीको जोखिममा रहेका नागरिकका घर छनाेट गरेर टिनको छाना राख्न लागेको जानकारी दिनुभयो । यस कार्यका लागि नगरपालिकाले एक घरलाई ५० हजार रुपियाँ सहयोग गर्ने बताइएको छ ।

सकभर जनताकै आँगनमा सेवा प्रवाह होस् भन्ने चाहना अनुरुप यस्तो कार्य अघि सारिएको उहाँले बताउनुभयो । स्थानीय सरकारले झण्झटरहित, चुस्त र पारदर्शी सेवा दिन लागिपरेको नगरप्रमुख बादीले जनाउनुभयो । यस कार्यले सेवाग्राहीलाई आर्थिक व्ययभार नपर्ने र प्रक्रियागत झन्झट पनि नहुने विश्वास रहेको उहाँको भनाइ छ ।

वडाध्यक्ष थलबहादुर कुँवरले नगरपालिका कार्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको वडा कार्यालयबाट एकीकृत सेवा प्रदान गरिएको बताउनुभयो । यस कार्यले गाउँबाट नगर कार्यपालिका कार्यालय, फोटो सेन्टर, बैंक लगायतका विभिन्न ठाउँ धाउनुपर्ने, होटल बास बस्नुपर्ने, गाडी चढेर यात्रा गर्नुपर्ने झण्झड नागरिकले बेहोर्नु नपर्ने वडाध्यक्ष कुँवरले उल्लेख गर्नुभयो । सम्झौता गरिएका कार्यक्रमहरुको कार्यान्वयनका लागि वडा कार्यालयले नियमित सहकार्य र अनुगमन गर्ने उहाँको भनाइ  छ । गाउँमै एकीकृत सेवा प्रवाहका लागि नगरपालिकाले पूर्वाधार विकास शाखा, नेपाल बैंक लिमिटेड, प्रवेश फोटो एण्ड प्रिन्टर्स लगायतसँग सहकार्य गरेको थियो ।