• २१ वैशाख २०८१, शुक्रबार

गणतन्त्र नेपालका १४ वर्ष : तीन राष्ट्रपति

blog

प्रथम राष्ट्रपति डा. रामवरण यादव, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन ३० गते। नेपालमा तीन सय ४४ वर्षमा ठूलठूला तीनवटा राजनीति परिवर्तन भएका छन्। १०४ वर्षको राणा शासनको अन्त्य, २४० वर्षको शाह परिवारको बिदाइ र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना । राणा र शाह कालमा एउटै परिवारका व्यक्तिले देशको कार्यकारी प्रमुख र राष्ट्राध्यक्ष बनेर शासन गरेँ। गणतन्त्र नेपालको १४ वर्षमा तीनजना नागरिकले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ। गणतन्त्रको सुन्दरता मान्नुपर्छ तीन राष्ट्रपतिमा मधेशी, महिला र खसआर्यको प्रतिनिधित्व भएको छ। वि.सं. २०६२/६३ को जनआन्दोलनको जगमा गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो।

देशमा गणतन्त्र स्थापनापछि २०६५ साउन ४ गते पहिलो पटक राष्ट्रपतिको निर्वाचन भयो। नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो डा. रामवरण यादव र रामराजाप्रसाद सिंह। पहिलो चरणको राष्ट्रपतिको निर्वाचनमा डा. यादवले दुई सय ८३ र सिंहले दुई सय ७० मत प्राप्त गर्नुभयो। त्यतिबेला पाँच सय ७८ जना संविधानसभा सदस्यले मतदान गरेका थिए।

प्रथम चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नगरेपछि २०६५ साल साउन ६ गते दोस्रो चरणको निर्वाचन भयो। दोस्रो चरणमा डा. यादवले तीन सय आठ र सिंहले दुई सय ८२ मत ल्याउनुभयो। राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा बहुमत प्राप्त गर्नुभएका यादव २०६५ साउन ६ गते नेपालको पहिलो राष्ट्रपतिको रुपमा निर्वाचित हुनुभयो।

उहाँले २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभयो। उहाँले २०७२ कात्तिक १२ गतेसम्म सात वर्ष राष्ट्रपति पदको जिम्मेवार सम्हाल्नुभयो।


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बधाइ तथा शुभकामना दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर 

२०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । २०७२ साल भदौ ३० गते दोस्रो संविधान सभाले यो संविधान दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो।

नेपालको संविधान जारी भएपछि सो अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको प्रावधान अनुरुप राष्ट्रपति निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट बहुमतबाट हुने व्यवस्था भएको छ।

२०७२ साल कात्तिक ११ गते सम्पन्न भएको राष्ट्रपतिको दोस्रो निर्वाचनबाट देशकै पहिलो महिला राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभयो। त्यतिबेला निर्वाचित राष्ट्रपति भण्डारीले तीन सय २७ र उहाँका प्रतिद्वन्द्वी कुलबहादुर गुरुङले दुई सय १४ मत ल्याउनुभयो।

तेस्रो पटक २०७४ साल फागुन २९ गते भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो पदावधिका लागि विजयी हुनुभयो। निर्वाचन आयोगले संघीय सांसदका एक जनाको सांसदको मत बराबर ७९ मतभार र प्रदेश सभाको एक सदस्य बराबर ४८ मतभार कायम गरेको थियो। सो मतभार अनुसार तेस्रो पटकको निर्वाचनमा भण्डारीको पक्षमा ३९ हजार २९५ र उहाँका प्रतिद्वन्द्वी कुमारी लक्ष्मी राईको पक्षमा ११ हजार ७३० मत आएको थियो। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि २०७९ फागुन २९ गते सकिएको हो।


कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालयल शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै। 

२०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपतिको चौथो पटकको निर्वाचनबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित हुनुभयो। पौडेल ३३ हजार ८०२ मतसहित राष्ट्रपतिमा विजयी हुनुभएको हो। उहाँको प्रतिद्वन्द्वी सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गर्नुभयो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले २०७९ फागुन २९ गते राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ ग्रहण गर्नुभयो।पौडेलको राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।