• २० वैशाख २०८३, आइतबार

मित्र र दुश्मन छुट्याउन जेनजी युवालाई संयोजक प्रचण्डको आग्रह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रचण्डको निजी सचिवालय ।

काठमाडौँ, कार्तिक १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुश्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेन्जी युवालाई भन्नुभयो  “तपाईंहरू आफ्नो मित्र दुश्मन को हो छुट्टयाउनु होला । हामीलाई पनि पहिल्यै आतङ्ककारी भनिएको थियो ।”

जनताको हक, हित र अधिकारका लागि लड्नेलाई आतङ्ककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भन्नुभयो “एउटा विचारले भन्छ—तपाईंहरूको आन्दोलनलाई आतङ्ककारी । यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतङ्ककारी भनिएको थियो। आज फेरि तपाईंहरूलाई पनि त्यस्तै शब्दमा व्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सचेत हुन जरुरी छ।”

उहाँले थप भन्नुभयो, “क्रान्तिमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ- उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।”

देशको समसामयिक राजनीतिक सङ्कट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ।संयोजक प्रचण्डले भन्नुभयो, “हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।”