• १३ असोज २०८१, आइतबार

बन्दको आंशिक प्रभाव

blog

सुनसरी समाचारदाता

इटहरी, फागुन २९ गते । कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आइतबार आह्वान गरिएको प्रदेश बन्दले पूर्वी नेपालको जनजीवनमा आंशिक प्रभाव परेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दले कोशी प्रदेशका अधिकांश जिल्लामा जनजीवन आंशिक प्रभावित बनेको हो। 

विशेष गरी झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायतका जिल्लामा बन्दको प्रभाव देखिएको छ। बन्दका क्रममा दिनभर छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन सञ्चालन भएनन् भने कोशी प्रदेशका अधिकांश 

शैक्षिक संस्था बन्द भएका थिए। बन्दमा कुनै अप्रिय घटना नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

यसैबीच दमक समाचारदाताका अनुसार प्रदेश नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन्।

कोशी प्रदेश नामकरण भएकोप्रति असहमति प्रकट गर्दै आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले आइतबार कोशी प्रदेशमा हडताल भन्दै सडकमा आएपछि झापाका प्रमुख चोक बजारमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी भयो।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार विभिन्न ठाउँमा सडक बन्द गराउँदै हिँडेका २२ जनालाई पक्राउ गरिएको हो। दमक, केर्खा, बिर्तामोड, काँकडभिट्टालगायत क्षेत्रबाट तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बन्द बन्दै गर्न माग

विभिन्न माग राख्दै फेरि बन्द र हडताल हुन थालेको भन्दै व्यवसायी तथा सर्वसाधारणले यस्तो कार्य नगर्न आग्रह गरेका छन्। आफ्ना कुनै पनि माग भए शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकार सबैमा रहेको भन्दै कोभिड र आर्थिक मन्दीले तहसनहस भएको व्यापार तथा व्यवसाय र जनजीवनलाई थप प्रभावित पार्ने किसिमको बन्द एवं हडताल नगर्न व्यवसायीले आग्रह गर्न थालेका छन्।

“हामीले दमकलाई बन्दमुक्त बनाएर जस्तोसुकै बन्दमा पनि दमक बजार खुल्ने अवस्था सिर्जना गरेका थियौँ तर फेरि बन्द हुन थाल्नु दुःखद हो,” बन्द अभियानविरुद्ध लाग्नुभएका दमकका अगुवा व्यवसायी विमल खतिवडाले भन्नुभयो। “बन्द तथा हडतालले व्यवसायी मात्र होइन व्यवसायीसँग जोडिएका कैयौँको घरपरिवारमै असर पर्छ,” उहाँले भन्नुभयो। “बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज तिर्न नै भए पनि दिनरात व्यवसाय खोलेर बस्नुपर्ने अवस्था आएको छ,” दमक उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ज्ञाननाथ पौड्यालले भन्नुभयो।