• २५ पुस २०८१, बिहिबार

नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य

blog

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल । तस्बिर : क्यान

काठमाडौं, फागुन २८ गते । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले सय १२ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आरिफ शेखले ४३, दीपेन्द्र सिंह ऐरीले ३४, गुलशन झाले ३७ र भीम सार्कीले २९ रन बनाउनुभयो । बलिङमा युएईका आयन अफ्जल खान, जावर फरिद, रोहन मुस्ताफा र जोहोर खानले दुई दुई विकेट लिनुभयो ।

आर्यान लाक्रा र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । लिगकै अन्तिम सिरिजको रूपमा रहेको यस प्रतियोगितामा नेपालका लागि सबै खेल महत्त्वपूर्ण रहेको छ । नेपाललाई विश्वकपमा स्थान बनाउन सबै (तीन वटै) खेल जित्नै पर्ने बाध्यता छ ।

नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो । यता विश्वकप छनोटबाट बाहिरिएको युएई पनि एकदिवसीय मान्यता कायम राख्न नेपाललाई हराउने लक्ष्यमा छ । 

युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नुपर्ने हुन्छ । यस लिगमा नेपाल अहिले ३३ खेलबाट ३४ अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएई ३३ खेलबाट ३१ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ । नेपालले तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । लिग-२ मा सहभागी टोलीलाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।