युवामा जोश हुन्छ, जाँगर हुन्छ अनि सिर्जनशीलता हुन्छ, तागत हुन्छ, जसको महìवम उपयोग गर्न सक्दा मुलुकलाई विकसित मुलुकको कोटीमा उभ्याउन सकिन्थ्यो । युवा परिवर्तनका संवाहक मात्र नभई परिवर्तनको आह्वानकर्ता पनि हुन् । समाज रूपान्तरणका लागि भूमिका निर्वाह गर्न सक्ने पक्ष पनि युवा नै हुन् भन्ने मान्यता रहिरहँदा हाम्रो भोगाइ के साँच्चिकै यस्तै छन् त भनेर विश्लेषण गर्नु आवश्यक भएको छ । अहिलेकै गतिमा युवा पलायन भइरहने हो भने के हाम्रो मुलुक बन्छ भन्ने चिन्ताको विषय बन्दै छ ।
युवा भनेका आशा, सिर्जना, उत्साह, उमङ्ग तथा जागरणका स्रोत पनि हुन् । १६ वर्षदेखि ४० वर्ष उमेरसम्मका शारीरिक, मानसिक तथा बौद्धिक हिसाबले सक्रिय व्यक्ति नै युवाको कोटीमा पर्छन् । विभिन्न मुलुकले युवाको उमेर अवधिलाई आआफ्नै ढङ्गबाट परिभाषित गरेका छन् । संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको देखिन्छ । नेपालमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाले ओगट्छन् । औपचारिक आँकडा कम भए पनि अनौपचारिक रूपमा समेत गरेर ८० लाख हाराहारीमा नेपाली विश्वका १७० बढी मुलुकमा विदेशिएको आँकडा विभिन्न स्रोतमा प्रकाशित भएको पाइन्छ ।
युवा पलायन हुँदा स्वदेशी उत्पादनमा समेत ह्रास आएको छ । जसका कारण कृषिप्रधान मुलुक हुँदाहुँदै पनि धनिया, अदुवा र बेसारमा समेत परनिर्भर बनिरहनुपरेको छ । यी वस्तु पनि हाम्रो मुलुकमा उत्पादन हुन नसकेर ठूलो धनराशि बाहिर पठाइरहेका छौँ । यहाँ युवाले काम गरेबापत पाउने ज्यालादर पनि तुलनात्मक रूपमा न्यून रहेको छ । जसबाट बढ्दो महँगीसहितको दैनिकी धान्न धौ–धौ अवस्था रहेको छ । वैदेशिक रोजगारीबाट कमाएको रकमसमेत उत्पादनमुखी क्षेत्रमा भन्दा पनि उपभोगमै खर्च हुने भएकाले वस्तु तथा सामान खरिद गर्दा रकम पुनः विदेशिन जाँदा रेमिट्यान्सबाट उल्लेखनीय लाभ लिने गरी उपयोग हुन सकेको छैन । हामीकहाँ श्रम गर्ने र श्रमको सम्मान गर्ने संस्कृति दुवैको खडेरी पर्दै छ । न युवामा स्वदेशमा नै केही गर्ने जाँगर छ न विश्वास छ न युवाको बुझाइमा कार्यवातावरण नै छ । यसको कारण युवा बाहिरिने क्रम बढिरहेको छ र भविष्यमा तीव्र बढ्ने देखिन्छ ।
देखासिकी तथा बढ्दो विलासी परिवेशका कारण खर्च बढी हुन जाँदा एक जनाले कमाएर पारिवारिक खर्च धान्न सकिने अवस्था पनि देख्दैनन् युवा । नेपालमै रहने युवा पनि स्वरोजगार हुने अनि रोजगारी सिर्जना गर्ने गरी उत्पादनशील कार्यमा लाग्नेभन्दा पनि जागिरे मानसिकताले ग्रसित भई सबैले जागिर नै गर्न खोज्ने मानसिकतामा रहेका पाइन्छन् । सबैलाई अपेक्षा गरेअनुरूप जागिरको सम्भावना पनि नरहेको हुनाले बाध्य भएर बाह्य मुलुकमा धाउँछन् । औपचारिक तथा अनौपचारिक रूपमा लाखौँ युवा जोखिमयुक्त परिवेश तथा कम वेतनमा नै पनि काम गर्न बाध्य बनिरहेका छन् । सबैलाई एकै खालको अवसर मिलिरहेको छैन वैदेशिक रोजगारीमा । कोही राम्रो धन आर्जन गरिरहेका छन् भने कोही विदेशमै ठगिएका छन्, कोही श्रम शोषणमा परिरहेका छन् भने कोही दलालको फन्दामा परी स्वदेशमै ठगिएका छन् ।
सबैको रहर नहोला, सबैको बाध्यता पनि नहोला तर किन हाम्रा युवालाई यही मुलुकमा आकर्षित गर्न सकिएको छैन भन्ने मूल प्रश्न पहाडजस्तै खडा भएको छ तर चिन्तन उपयुक्त ढङ्गबाट भइरहेको पाइँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, सहुलियत कर्जा, शैक्षिक प्रमाणपत्र कर्जा, व्यावसायिक बीमाको व्यवस्था लागू भए पनि युवा यही मुलुकमै रहने, व्यवसाय गर्ने र रोजगार गर्नेमा आकर्षित बन्न सकेका छैनन् । युवाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक गरी हरेक क्षेत्रमा महìवपूर्ण भूमिका रहेको हुन्छ तर हामीले सही उपयोग गर्न सकिएको छैन ।
युवा जुन गतिमा नेपालबाट बाहिरिरहेका छन् । यो अवस्था चिन्ताजनक नै देखिन्छ । युवा आफूहरू मात्र गएका छैनन्, गएका केही वर्षमा क्रमिक रूपमा आआफ्ना परिवारका सदस्य पनि लिएर गएका छन् । केही मात्रामा त बसाइसराइँ नै गर्ने र नेपालमा भएको पुँजी पनि बाहिर लैजाने काम हुँदै गरेका छन् । यो दुर्दशा एकातिर छ भने अर्कोतर्फ जो कमाउनका लागि विदेशिनुभएको छ र कमाएर नेपाल पठाउनुभएको छ, सो पैसा पनि विलासितामा खर्च भइरहेको छ । जसका कारण पैसा फेरि पनि बाहिर नै गइरहेको छ । यसरी दुवै हिसाबमा नेपालमा पैसा नअडिनु भनेको दुर्भाग्य नै हो ।
यसैगरी नेपालमा श्रम गर्न सक्ने जनशक्तिको पनि खडेरी पर्दै गरेको अवस्था छ । विकास निर्माणमा जुट्ने, पेसा व्यवसाय गर्ने, खेती किसानी गर्ने मानिसको सङ्ख्या न्यून छ । आँकडामा कृषकको सङ्ख्या त उच्च नै छ तर प्रभावकारी ढङ्गबाट खेती किसान गरी आयातलाई रोक्न सक्ने गरी उत्पादन कार्य हुन सकेका छैनन् । व्यवसाय भनेका प्रायः व्यापार तथा होटल भएका छन् । घरैपिच्छे पसल छन् । सबैले किन्ने मात्र काम गर्छन् । कसैले किनेर नाफा पारेर बेच्ने त कोही किन्ने र उपभोग मात्र गर्ने । उत्पादनशील कार्य बढ्न सकेका छैनन् । उत्पादनशील कार्य नभएपछि रोजगारी सिर्जना हुने कुरा पनि भएन ।
सरकारी सेवामा पनि युवाको आकर्षण गिर्दो देखिन्छ । शिक्षक सेवामा त माग भएजति सङ्ख्यामा परीक्षा उत्तीर्ण नै हुन सकेका छैनन् । एकातिर शैक्षिक बेरोजगारी छ भनिन्छ, अर्कोतर्फ माग गरिएका पदपूर्ति पनि हुन सकेका छैनन् । यसले पनि युवाको सरकारप्रति आडभरोसा तथा विश्वास उत्साहजनक नभएको इङ्गित गर्दछ । सार्वजनिक प्रशासनमा पनि विशेषगरी निजामती सेवामा प्रतिभावान् युवाको विशेष आकर्षण हुनुपर्नेमा त्यसो हुन नसकी ती प्रतिभा विदेश जानेमै दौडधुप गरिरहेका छन् । जसले गर्दा जुन तवरले योग्य एवं दक्ष जनशक्ति सार्वजनिक प्रशासनमा भित्रिएर नवीनता दिनुपर्दथ्यो, त्यसो हुन सकिरहेको छैन ।
युवा शक्तिलाई राष्ट्रनिर्माणमा जुटाउनु आजको आवश्यकता पनि हो । जब युवा नै यो मुलुकमा बस्दैनन् अनि यहाँको शासन व्यवस्था तथा विकासका दुर्बलता सामना गर्ने शक्तिको अभाव हुन्छ अनि भ्रष्टाचार तथा कुशासनविरुद्ध आवाज उठाउने कोही पनि हुँदैन । जसका कारण शासन व्यवस्थामा पनि सुधारका लागि बाध्यात्मक परिस्थिति सिर्जना हुन सक्तैन र मुलुकको विकास हुँदैन । युवाको शिक्षा तथा सीपलाई रोजगारीसँग जोड्न जबसम्म आवश्यक प्रबन्ध गर्न सकिंँदैन, तबसम्म हाम्रा युवा विदेशिने क्रमलाई रोक्न सकिँदैन । जुन भयानक अदूरदर्शी अवस्था हो ।
लेखक वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।