• १२ असार २०८१, बुधबार

सडक बत्ती बालेबापत रौतहटका पाँच पालिकाले सात करोड बढी रकम तिर्न बाँकी

blog

सडक बत्ती । फाइल तस्बिर

यादवराज पुरी
रौतहट, फागुन २७ गते । 
सडक बत्ती बालेबापत रौतहटका पाँच वटा नगरपालिकाले सात करोड रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर गरी पाँच वटा नगरपालिकाले सडक बत्तीको उक्त रकम भुक्तानी गरेको छैन । 

प्राधिकरणका शाखा प्रमुख धिरेन्द्र यादवकाअनुसार सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाले एक करोड ९१ लाख ५५ हजार ७६ रुपियाँ भुक्तानी गर्नुपर्ने छ । यस्तै, गुजरा नपाले एक करोड ८७ लाख २३ हजार ६८६ रुपियाँ, वृन्दावन नपाले एक करोड ३० लाख २९ हजार ८३० रुपियाँ, गरुडा नपाले ७१ लाख २२ हजार ३७१ रुपियाँ र फतुवा विजयपुर नपाले आठ लाख १५ हजार ९५८ रुपियाँ गरी जम्मा पाँच करोड ८८ लाख ४६ हजार ९२१ रुपियाँ हर्जनाबाहेक भुक्तानी गर्नु पर्ने देखिएको छ ।

शाखा प्रमुख यादवले ती पाँच पालिकाले बक्यौता राखेका उक्त रकमको हर्जाना जोड्दा सात करोड ४५ लाख ५८ हजार ६५२ रुपियाँ हुन आउने बताउनुभयो । सडक बत्तीको बक्यौता महसुल तिर्न भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानीय तहलाई सूचना जारी गरेअनुरूप चन्द्रपुर शाखाले पनि मातहतका ती पाँच वटा स्थानीय तहलाई बक्यौता विद्युत महसुल बुझाउन आग्रहकासाथ पत्राचार गरेको छ ।