• ८ मंसिर २०८१, शनिबार

म धरती (कविता)

blog

म धरती/म जननी 

उमार्नु छ मैले जमिनरूपी कोखमा 

नवजीवनका टुसाहरू । 


सहेर जननी हुनुको प्रसव 

बन्नु छ मैले नवजात बिरुवाको माली 

सिञ्चित गर्नु छ मैले वक्षस्थलको पानीबाट

अङ्गरक्षक हुँ म उसको 

जोगाउनु छ आँधी, हुरी, चट्याङबाट । 


छिन छिनमा होसियारीको नजर लगाउँदै 

दिन दिनमा एउटै दैनिकी पछ्याउँदै 

कति गाह्रो हुन्छ हुर्काउन एउटा बिरुवा 

त्यागेर आफ्ना भोक, प्यास, निद्राहरू । 


रूपान्तरण भएपछि बिरुवा किशोर बोटमा 

उखेल्नु पर्छ मैले उसका खराब सङ्गतका झारहरू,

सुनाउनु पर्छ मैले कहानीहरू कैयौँ अरू वृक्षका 

जसले दिएथे ज्ञानको शीतलता 

चराचर जगत्का लागि । 



जब एकदिन बन्छ ऊ वयस्क रुख

सकिँदैन अझै मेरो जिम्मेवारीको भारी,

चिप्लिन दिनुहुन्न मैले उसलाई मेरो माटोबाट

बनाउनु पर्छ मैले उसलाई माटोभक्त/मातृभक्त

मेरो जीवनको सतत उपलब्धि । 


खपेर जतिसुकै पीडा, कष्ट 

आखिर 

मैले हुर्काउनै पर्छ मेरो काखमा/पाखामा रुखहरू 

किनकि 

म धरती/म जननी ।