शशिधर पराजुली
विराटनगर, चैत २५ गते । कोशी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
१०औँ स्वास्थ्य बिमा दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, प्रदेशका ५७ प्रतिशतभन्दा बढी नागरिक बिमाको दायरामा आएका छन् ।
स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेश कार्यालयका अनुसार हालसम्म २८ लाख ६१ हजार ८५२ जना बीमामा आबद्ध भएका छन् । यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको ५७.५६ प्रतिशत हो । देशभरको औसत बीमा पहुँच २६.५४ प्रतिशत मात्र रहँदा कोशी प्रदेशको प्रगति निकै उत्साहजनक देखिएको छ ।
अस्पतालबाट उपचार सेवा लिनेको सङ्ख्याले पनि बीमा कार्यक्रमप्रति नागरिकको विश्वास बढ्दै गएको छ । आबद्ध भएकामध्ये झण्डै ६७ प्रतिशत (१९ लाख २५ हजार १६७ जना) ले बीमामार्फत उपचार सेवा लिएका छन् ।
प्रदेश संयोजक अर्जुन पण्डितले नागरिकको आकर्षण बढेसँगै बीमा नवीकरण गर्ने दर पनि ७३ प्रतिशतभन्दा माथि पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशीका सबै १४ जिल्लामा यो कार्यक्रम विस्तार भइसकेको छ ।बीमा बोर्डले उपचार सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थालाई ठूलो रकम भुक्तानी गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ सम्ममा ११९ वटा सूचीकृत स्वास्थ्य संस्थालाई १२ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यस प्रदेशमा ९३ सरकारी, पाँच सामुदायिक र २१ निजी अस्पतालले बिमितलाई उपचार सेवा दिइरहेका छन् ।
सरकारले लक्षित वर्गका लागि निःशुल्क बीमाको व्यवस्था समेत गरेको छ । कोशीमा हाल दुई लाख ७८ हजार जेष्ठ नागरिक, ६२ हजार ५०० अति अशक्त अपाङ्गता भएका व्यक्ति र ४० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाले यो सुविधा लिइरहेका छन् ।
यस्तै अति गरिब, एचआईभी सङ्क्रमित र जटिल रोगका बिरामीहरू पनि बीमामा समेटिएका छन् ।संयोजक पण्डितले कार्यक्रम प्रभावकारी बन्दै गए पनि स्थानीय तहमा संरचना निर्माणको कामलाई अझै गति दिनुपर्ने बताउनुभयो ।
हालसम्म प्रदेशका १३७ स्थानीय तहमध्ये ५६ वटामा मात्र बीमा संयोजन समिति गठन भएको छ । सरकारले २०७२ सालमा सुरु गरेको यो कार्यक्रम हाल देशभरका ७७ वटै जिल्लामा सञ्चालित छ ।