विभिन्न संस्कृति, परम्परा र त्यसभित्रका अन्य विषयमा केन्द्रित भएर साहित्य सिर्जना गर्ने क्रम नेपाली साहित्य जगत्मा बढिरहेको छ । यसैक्रममा रत्न प्रजापतिको ‘रित्तो रथ’ कथा सङ्ग्रह बजारमा आएको छ । यस सङ्ग्रहका कथामा नेवारी संस्कृति र त्यस संस्कृतिभित्र अन्तर्निहित यौन मनोविज्ञानलाई रोचक रूपमा प्रस्तुत गरिएको छ । ‘रित्तो रथ’का अधिकांश कथामा यौनिक झलक पाइन्छ । सङ्ग्रहमा बत्तीसवटा कथा समावेश छन् । सामाजिक विषयमा लेखिएका कतिपय कथामा यौनमनोविज्ञान सुटुक्क घुसेको पाइन्छ । सामाजिक विकृति विसङ्गतिप्रति रोचक ढङ्गले प्रहार गर्नु प्रजापतिका कथा वैशिष्ठ नै हुन् । नेवारी संस्कृति र यसभित्र जोडिएका विविध प्रसङ्गबाट कथावस्तु ग्रहण गरी कथा लेखनमा सक्रिय प्रजापतिका ‘बिसन्चो’, ‘सेतो बादल’, ‘बदाम बेच्ने केटी’, ‘स्वच्छन्द साँझ’ आदि कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
‘रित्तो रथ’ कथा सङ्ग्रहमा यौनमनोविज्ञान, सामाजिक, सांस्कृतिक, राजनीतिक आदि विषय पाइन्छन् । अधिकांश कथामा पात्रको यौन मनोग्रन्थीलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ । आफ्नै समाज र संस्कृतिका साक्ष्य कथाकार प्रजापतिका ‘रित्तो रथ’, ‘रङ्गीन बाफ’, ‘तेबाचाको फेसबुक स्टाटस’, ‘खर्पन’, ‘नागरिकता’, ‘जाडो जिजीविषा’, ‘सपनाको अवसान’, ‘तलमाथि’, ‘अर्कै घरबाट’ यस ग्रहमा सङ्गृहीत राम्रा कथा हुन् । त्यस्तै ‘त्यो रात’, ‘उकुसमुकुस’, ‘उपदेश’, ‘धमिलो तस्बिर’, ‘मान्छेको स्वाद’ आदि कथा पनि प्रभावकारी मानिन्छन् । उहाँका अधिकांश कथामा नेवारी समाजको जीवन्त संस्कृतिको प्रतिविम्ब पाइन्छ, जसका कारण कथामा आञ्चलिकताको पनि केही आभाष पाउन सकिन्छ ।
जनप्रतिनिधिबाट नै जनता ठगिएको कुरालाई ‘गन्ध’ कथामा चित्रण गरिएको छ । त्यस्तै, हिंसाबाट पीडित महिला र पुरुषकोे कथा हो– ‘सामाजिक तन्नेरी सुरक्षित तरुनी’ । यस कथामा सुन्तला बेच्ने आफ्नोे श्रीमान् गुमाएकी तरुनी र श्रीमती गुमाएको तन्नेरीको कथा छ । यस कथामा पनि यौनमनोविज्ञानलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ । ‘रङ्गीन बाफ’मा घरमा श्रीमती हुँदा पनि अन्य नारीप्रति लोभिएका पुरुष मनोवृत्तिलाई सटिक ढङ्गले उतारिएको छ । डनतन्त्रका अगाडि गणतन्त्र, लोकतन्त्र हराएको आभाष ‘गन्ध’ कथामा पाइन्छ । ‘साहिँलीको कुखुरी’मा पराजित मानसिकता प्रस्तुत गरिएको छ भने मान्छेको स्वादको आदत बडो गज्जबको हुने कुरा ‘मान्छेको स्वाद’मा कथाकारले सहज रूपमा उल्लेख गर्नुभएको छ । शिक्षण पेसाभित्र अन्तर्निहित कमाउ धन्दा र त्यसले शिक्षा क्षेत्रमा पारेको असर ‘भेद’ कथामा पाइन्छ । पुख्र्यौली पेसाको निरन्तरतासँग आधुनिक प्रविधिको राम्रो फ्युजन भएको कथा हो ‘तेबाचाको फेसबुक स्टाटस’ । तेबाचालाई आधुनिक जमानामा पनि प्रविधिको प्रयोग गर्ने ज्येष्ठ नागरिक पात्रका रूपमा लिन सकिन्छ । अचेल खर्पनको भारीभन्दा जिन्दगीको भारी निकै गहुँ्रगो लाग्न थालेको छ भन्ने तेबाचाको फेसबुक स्टाटसमा जीवनको यथार्थ पक्ष झल्किएको छ, जुन यस समाज र तेबाचाले बाँचेको जीवनको यथार्थ हो । तल्सिङ र मोहीबीचको समस्यालाई ‘खर्पन’ कथामा प्रस्तुत गरिएको छ । उक्त कथामा पुख्र्यौली किसानका समस्यासँगै बिकुनसिंह ध्वंब्वाले खर्पनको एकापट्टि आफ्नो जिन्दगी देखेको र अर्कोपट्टि आफ्नो संस्कृति देखेको उल्लेख गरिएको छ ।
त्यस्तै मनमा दुःख, पीडा भएमा कामको सन्तुष्टि नमिल्ने र नतिजा सोचेजस्तो नआउने कुरा ‘हरियो जमरा’ कथामा पाइन्छ । ‘रित्तो रथ’ कथामा पाटनको मच्छेन्द्रनाथको रथ यात्राको विस्तृत वर्णनका साथै मुख्य पात्र ज्ञानीमाया र बाबुराजाको कथा छ । उसलाई रथ होइन बाबुराजाको मनले आफूतिर तानेजस्तो लाग्छ । जब जात्रा सकिन्छ तब रथ रित्तो हुन्छ । त्यसलाई कसैले वास्ता गर्दैनन् । त्यस्तै, बाबुराजाको प्रेममा डुबेकी ज्ञानीमाया पनि उसको वास्तविकता थाहा पाएपछि आफूलाई रित्तो रथसँग तुलना गर्न पुग्छे । उसको मनको रथ पनि रित्तो बन्न पुगेको यथार्थ यस कथामा पाइन्छ ।
निम्नवर्गले आर्थिक समस्याका कारण भोग्नुपर्ने थुप्रै समस्यामध्येको एउटा समस्यालाई ‘घुँक्कघुँक्क’ कथामा चित्रण गरिएको छ, जुन कथामा अभावका कारण छोरीको विवाह गर्न नसकिएको विषय रहेको छ । पहिरोले घर बगाउँदाको चिन्ता बोकेको ‘नागरिकता’ कथाभित्र मानिसको पहिचान र अस्तित्वको विषयलाई उठाइएको छ । पहिरो पन्छाएर एउटा बाकसमा रहेको नागरिकता भेटिएपछि लालबहादुरको खुसीलाई कथामा उतारिएको छ । यस खुसीमा उसले नागरिकतालाई आफ्नै नवजात शिशुझैँ सुम्सुम्याउन पुगेको छ । अंशबन्डाका कारण पैतृक सम्पत्ति विभाजन हुँदा नेवारी संस्कृति हराउन पुगेको कथा ‘भुलाँ’मा पाइन्छ । सडक विस्तारसँगै उठिबास भएको र कबाडी बटुल्ने कुमारी केटीहरूको पीडालाई ‘सबिरा’ कथामा उतारिएको छ । बाँचुञ्जेल सकसपूर्ण बाँच्ने र मरेपछि चाहिँ भाग्यमानी भन्ने नेपाली समाजको यथार्थ चित्रण
‘भाग्यमानी’ कथामा पाइन्छ भने ‘तस्बिर’मा यात्राका दौरान बस्न पुगेको प्रेमको चित्र पनि रोचक ढङ्गमा उतारिएको छ ।
सङ्ग्रहमा समावेश ‘सपनाको अवसान’ मा वैदेशिक रोजगारीको पीडालाई उठान गरिएको छ । सधैँझैँ बाकस अर्थात् ज्यामितीय बाकस लिएर विद्यालय जाने ऊ परिवारको चाहना र समृद्धिका लागि विदेश पुग्छ अनि परिवारका लागि दुःख गरेर पैसा पठाउँछ । तर विडम्बना ऊ एकदिन आफैँ बाकसभित्र बन्द भएर आउन बाध्य हुन्छ । यस कथामा वैदेशिक रोजगारमा ज्यान गुमाउने नेपाली युवाको दर्दनाक कहानी र अभिभावकको सपनाको अन्त्य हुन पुगेको कुरा देखाइएको छ । ‘टाँक’ टाँकसँग जोडिएको मनोविज्ञानलाई सहज ढङ्गले उतार्दै नारीमाथि शङ्का गर्ने पुरुष प्रवृत्तिको उल्लेख पाइन्छ । ‘भाँडो’ यौन मनोविज्ञानमा आधारित प्रतीकात्मक कथा हो भने लोग्ने परदेश लागेपछि श्रीमतीमा बढ्ने यौन चाहनाको भोकलाई आधार बनाएर लेखिएको कथा हो
‘त्यो रात’ ।
कथाको भाषाशैली सरल सहज छ भने कथाका पात्रले बोल्ने भाषाले उनीहरूको समाज र वर्गलाई पनि चित्रण गरेको छ । कथामा पात्रका संवादका रूपमा नेपाल भाषा र अन्य भाषा पनि प्रयोग भएको देखिन्छ । नेवारी संस्कृतिका विभिन्न प्रसङ्ग र विषयवस्तुमा आधारित भएर सिर्जना गरिएका सङ्ग्रहका कथाहरू रोचक र पठनीय छन् भने समग्र कथामा यौनका विषयलाई नै प्राथमिकता दिएको पाइन्छ । शिखा बुक्स बागबजारले प्रकाशनमा ल्याएको २८२ पृष्ठको यस कृतिको मूल्य ४७५/– रुपियाँ रहेको छ ।