• ९ पुस २०८१, मङ्गलबार

देउडा गीतमार्फत पोखिँदै महिलाको पीडा

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २६ गते । हिमाली जिल्ला हुम्लामा देउडा गीतमार्फत आफ्ना पीडा र वेदना पोख्दै ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नारी दिवसमा जम्मा भएका गाउँका महिलाले आफ्ना दुःख र व्यथा देउडा गीतमार्फत कार्यक्रमका अतिथिहरूलाई सुनाए । 

सिमकोट गाउँपालिका–५ की भरुनी रोकायाले देउडा गीतबाट जिल्लाभरिका महिलाले पाएका दुःख, कष्ट, विभेद, कार्यबोझ सुनाइएको बताउनुभयो । ८० जनाभन्दा बढी महिलाले देउडा गाएर वेदना सुनाएका थिए । 

सिमकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी महिलाले अधिकार पाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएका कारण महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको गीतबाटै सुनाए । गीतमा महिलालाई संविधानले अधिकार प्रदान गरे पनि प्रयोगमा आउन नसकेको, स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित नभएकोलगायतका गुनासा पोखिएको थियो । 

स्थानीय वेशभूषामा सजिएका महिलाले -याली मात्र निकालेर नारी दिवसले सार्थकता नपाउने भएका कारण महिलालाई सिर्जनात्मक र रचनात्मक कार्यमा सहभागी गराउन पनि गीतमार्फत माग गरे ।