• २५ चैत २०८२, बुधबार

बालमैत्री स्थानीय शासनका लागि तयारी तीब्र

blog

बालमैत्री स्थानीय शासनका लागि वडास्तरीय अभिमुखीकरण । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, चैत २५ गते । २०८३ को पुससम्म कपुरकोट गाउँपालिकाका वडाहरू तथा आगामी फागुनसम्म पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि तयारी तिब्र बनाइएको छ । यसका लागि गाउँपालिकाका सबै ६ वटै वडामा बालमैत्री स्थानीय शासनको नीतिगत तथा प्रक्रियागत अवलम्बन, कार्यान्वयन तथा घोषणा प्रक्रिया सम्बन्धी वडा स्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

बालमैत्री स्थानीय शासनको अवधारणा, कार्यान्वयनका चरण, सूचक तथा घोषणा प्रक्रियाबारे राष्ट्रिय बालमैत्री तथा पोषण सहजकर्ता विष्णुप्रसाद चौबेले अभिमुखीकरण गर्नुभएको थियो । 

वडास्तरका सबै सरोकारवालाहरू आगामी पुस मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नका लागि सामूहिक रूपमा प्रतिबद्धता जनाएको पालिकास्तरीय बालमैत्री सहजकर्ता कमल महताराले जानकारी दिनुभयो । वडास्तरीय कार्यक्रममा १९ प्रकारका सरोकारवालाको सहभागिता रहेको थियो । वडाका जनप्रतिनिधिहरू, प्रहरी, स्वास्थ्य चौकी प्रमुख, वडा सचिव, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, बाल समूह सञ्जालका प्रतिनिधी लगाएतको सहभागिता थियो । 

बालमैत्री स्थानीय शासनलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको भन्दै कपुरकोट, ४ का वडाध्यक्ष मित्र कठायतले  निर्धारित समयमै वडा घोषणा गर्न आवश्यक तयारी तीव्र बनाइएको बताउनुभयो । 

सबै सूचकहरू पूरा गर्दै निर्धारित समयमै वडा तथा पालिका घोषणा गर्ने लक्ष्यतर्फ काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बालमैत्री स्थानीय शासन कार्यसम्पादन कार्यसमितिको समीक्षा पनि सम्पन्न भइसकेको छ । विभिन्न वडा समितिको बैठक पनि बस्न सुरु भएका छन् । वडा नं ५ मा बालमैत्री स्थानीय शासन समितिको पहिलो बैठकबाट निर्धारित समयमै घोषणाका लागि गर्नुपर्ने कामका सन्दर्भमा विभिन्न निर्णयहरू गरिएको वडाध्यक्ष होमराज खड्काले जानकारी दिनुभयो । 

बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बालबालिकाको अधिकार सुनिश्चित गर्ने, सुरक्षित वातावरण निर्माण गर्ने, शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच विस्तार गर्ने तथा बाल सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।