काठमाडौँ, फागुन २५ गते । वर्षायाममा मुहान र हिउँदमा पाइपको चुहावट टाल्नु मेलम्ची खानेपानी आयोजनाको नियमित कार्य भएको छ। पानी वितरण सुरु भएयता पटक–पटक पाइप चुहिएर राजधानीको विभिन्न ठाउँ जलमग्न हुँदै आएको छ भने मेलम्चीको सुरुङ पनि चुहिन थालेको छ।
पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा र नयाँ पाइपलाइनको परीक्षण गर्नुपर्दा पाइप चुहिने समस्या देखिएको आयोजनाको भनाइ छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले आयोजनाबाट पानी वितरण कार्य नै प्रारम्भिक चरणमा रहेको हुनाले यस्तो समस्या देखिए पनि बिस्तारै यस प्रकारका समस्या समाधान हुँदै जाने बताउनुभयो। उहाँले जथाभाबी सडक तथा ढल निर्माण र नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पाइपलाइन फुटेर पानी चुहिने समस्या देखिएको बताउनुभयो। पुरानो पाइपलाइन चुहावट स्वाभाविक रहेको आयोजनाको भनाइ छ। आयोजनाअनुसार उपत्यकामा एक सय वर्षभन्दा पुरानो खानेपानीको पाइपलाइनको सञ्जाल रहेको छ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ पनि सामान्य रूपमा चुहिन थालेको पाइएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख कमलराज श्रेष्ठले सुरुङको केही स्थानमा प्रतिसेकेन्ड पाँच÷छ लिटरका दरले चुहावट हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “पानीको सुरुङमा ‘जिरो लिकेज’ भने हुँदैन।