सचिन पोख्रेल
विराटनगर, वैशाख १९ गते । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।
घटनामा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी सङ्गठन भित्रैबाट घटनालाई दबाउन खोजिएको आरोप पनि लागेको छ । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका एक साताअघि साँझ होटलमा खानपिनका लागि सहभागी हुनुभएको थियो ।
त्यहाँ खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सुरुमा प्रहरी निरीक्षक राजन लम्सालले निरीक्षक खनाल र खड्कामाथि हातपात गर्नुभएको बुझिएको छ ।
अवस्था बिग्रिएपछि खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिट बोलाउनु भएको थियो । तर, स्थिति नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गर्नुभएको थियो ।
स्थिति नियन्त्रणमा लिँदै खनाल र खडकाले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लगेका थिए । त्यहाँ पुगेपछि पनि लम्सालको आक्रामक व्यवहार रोकिएन । उहाँले कार्यालयमा रहेका सहायक हबलदार सन्जय भट्टराईलाई कुटपिट गर्दा भट्टराईको नाक र मुख फुटेर रगत बगेको थियो ।
रङ्गेलीका प्रहरी निरीक्षक खडका भने नियमित सरुवामा मङ्गलबार काठमाडौँतर्फ प्रस्थान गरेको बताइएको छ । घटनाको सम्बन्धमा सम्पर्क गर्दा निरीक्षक लम्साल, खनाल र खडकाले यस्तो कुनै असामान्य घटना नभएको दाबी गर्नुभयो ।
निरीक्षक लम्सालले ठुलो घटना नभएकाले अतिरन्जित नबनाइदिन अनुरोधसमेत गर्नुभयो । घाइते हवलदार भट्टराईले समेत साथीभाइबिचको सामान्य विषय भएको बताउनुभयो ।
यस सम्बन्धमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निरीक्षक विनोद घिमिरेले आफ्नो कार्यालयको मातहत रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक लम्सालको हर्कत र कुटपिटको घटना सम्बन्धमा आज जानकारी प्राप्त भएको बताउनुभयो ।
उहाँले घटनाको सम्बन्धमा विस्तृत बुझ्न र आवश्यक कारबाहीका लागि अनुसन्धान र छानबिन गर्न प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली खटाइने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले घटनाबारे आफू जानकार नरहेको बताउनुभयो । उहाँले घटनाको यथार्थ बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीन जना प्रहरी निरीक्षकबिचको असामान्य हर्कत र नाकमुखसमेत फुटेर घाइते बनेको कुटपिटको घटना र यसमा अन्य दर्जाका प्रहरीमाथि पनि हातपात र आक्रमण गरेको घटना स्थानीय प्रहरी बृत्तमा ढाकछोप गर्ने र गोप्य राख्ने प्रयास गरिएको छ । घटना बाहिरिदै जादाँ प्रहरी सङ्गठनमा अनुशासनहीनता बढेको भन्दै अनुसन्धान, छानबिन र कारबाहीको माग उठेको छ ।