• ६ पुस २०८२, आइतबार

वन संरक्षणमा टेवा पुर्‍याउन तालिम सञ्चालन

blog

क्षमता अभिवृद्धि तालिम समापनपछिको सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ६ गते। ताप्लेजुङमा सामुदायिक वन समूहमा आवद्ध रहेका स्थानीयलाई वन संरक्षणमा केन्द्रित क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। वन संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य राखेर वन समूहमा आवद्ध स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको हो।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले स्थानीय उपभोक्तालाई वन संरक्षण केन्द्रित तालिम प्रदान गरेको हो। महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार यहाँको सिरिजङ्घा गाउँपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्तालाई सामुदायिक वनको क्षमता अभिवृद्धि, लैङ्गिक समानता तथा लेखा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको हो।

वन तथा वातावरण संरक्षणमा केन्द्रित रहेर स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको ओझाले बताउनुभयो। तालिमको सहयोगले सामुदायिक वन संरक्षणसँगै स्वच्छ वातावरण कायम राख्नमा टेवा पुग्ने अपेक्षा राखिएको ओझाको भनाइ छ। शुक्रबार र शनिबार दुई दिन सञ्चालित तालिममा ४० जना स्थानीय उपभोक्ता सहभागी बन्नुभएको थियो।

यता तालिममा सामुदायिकको क्षमता अभिवृद्धि र लैङ्गिक समानतासम्बन्धी महासङ्घका जिल्ला अध्यक्ष ओझाले सहजीकरण गर्नुभएको थियो। यस्तै लेखा व्यवस्थापनसम्बन्धी प्रशिक्षक रवीन घिमिरेले सहजीकरण गर्नुभएको महासङ्घकी कर्मचारी अरुणा लिम्बूले जानकारी दिनुभयो। तालिमको उद्घाटनमा सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लगायतले शुभकामना दिनुभएको थियो।