• १९ वैशाख २०८२, शुक्रबार

बाह्य चमकभित्र गहिरिँदो सङ्कट

blog

नेपाली समाज हाल अभूतपूर्व सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणको चरणबाट गुज्रिरहेको छ । विश्वव्यापीकरणको प्रभाव सर्वव्यापी छ । सूचना प्रविधिको पहुँच व्यापक छ । बजार अर्थतन्त्रले समाजका अनेक पक्षमा प्रभाव पारेको छ । यी परिवर्तनले बाह्य रूपमा अवसर र समृद्धि दर्शाएका छन् । यही चमक पछाडि एउटा गम्भीर सङ्कट मौन रूपमा झाँगिँदै छ । त्यो सङ्कट हो; उपभोक्तावादी चिन्तनको अनियन्त्रित फैलावट । यो गम्भीर विषय प्रायः चर्चा र विमर्शभन्दा बाहिर छ ।

हाम्रो समाजको परम्परागत जीवनशैली फरक थियो । सीमित स्रोतसाधनमा सन्तोष थियो । सामुदायिक सहकार्य जीवनको अङ्ग थियो । आध्यात्मिक मूल्यमान्यताले व्यवहारलाई दिशानिर्देश गथ्र्यो । आज त्यो सामाजिक संरचना फेरिएको छ । वस्तुप्रतिको अतृप्त चाहना समाजमा फैलिएको छ । भौतिक साधनहरूको सङ्ग्रह र प्रदर्शनलाई नै सफलताको मापदण्ड मानिन्छ । सुख र सामाजिक प्रतिष्ठासमेत यसैबाट निर्धारण गरिन्छ । यो मनोवृत्तिले समाजलाई नराम्ररी गाँजेको छ । उपभोग अब केवल आवश्यकता पूर्ति गर्ने माध्यम मात्र रहेन । यो स्वयम् एउटा लक्ष्य बनेको छ । एउटा जीवनपद्धति जस्तै भएको छ ।

बजारले हाम्रा सांस्कृतिक पर्वहरूको मौलिकतामा हस्तक्षेप गरेको छ । विज्ञापनले हाम्रो आत्मसम्मानको परिभाषालाई प्रभावित तुल्याएको छ । सामाजिक सञ्जालहरूले साधारण, प्रदर्शन नगरिएको जीवनलाई अर्थहीन जस्तो प्रस्तुत गर्छन् । नवीनतम उपकरण जीवनका लागि अनिवार्य जस्ता लाग्न थालेका छन् । विदेशी सामग्रीप्रतिको आशक्ति बढेको छ । पहिरनमा क्षणिक विदेशी प्रभाव देखिन्छ । विलासी जीवनशैलीको नक्कल गर्ने प्रवृत्ति समाजको तल्लो तहसम्म पुगेको छ । यो प्रवृत्ति केवल आर्थिक गतिविधिमा सीमित छैन । यो हाम्रो सामाजिक तानाबाना, सांस्कृतिक अस्मिता र नैतिक आधारसँग अभिन्न रूपमा जोडिएको छ । यसले मानसिक स्वास्थ्य र पर्यावरणीय भविष्यलाई पनि जोखिमपूर्ण बनाउँदै छ । उपभोक्तावाद सामान्य किनमेलको व्यवहारभन्दा निकै गहिरो विषय हो । यो एउटा बलियो विचारधारा हो । यसले मानिसको चेतना र उसका छनोटहरूलाई निर्देशित गर्छ । यसले व्यक्तिलाई बजारको बृहत् संरचनाको एक निरीह अङ्गमा सीमित गरिदिन्छ ।

उपभोक्तावादी चिन्तनका कारक तत्व

नेपाली समाजमा उपभोक्तावादी चिन्तन विस्तार हुनुमा विविध र जेलिएका कारण छन् । विश्वव्यापीकरणले विदेशी वस्तु, प्रसिद्ध छाप र जीवनशैलीको अनियन्त्रित प्रवाह ल्यायो । सञ्चार माध्यम, विशेष गरी इन्टरनेट र सामाजिक सञ्जाल, निरन्तर उपभोक्तावादी सन्देश प्रवाह गर्छन् । आकर्षक विज्ञापनहरूले वस्तुलाई उपयोगिताका साधन मात्र नभई सामाजिक प्रतिष्ठा, आधुनिकता र सुखको मानकका रूपमा स्थापित गर्छन् । यसले, विशेष गरी युवामा, नयाँ वस्तु प्राप्त गर्ने र प्रदर्शन गर्ने मनोवैज्ञानिक दबाब सिर्जना गर्छ ।

आर्थिक उदारीकरणले बजारलाई अनियन्त्रित रूपमा फैलायो । आयात वृद्धि भयो, बजारमा वस्तुहरूको छनोट व्यापक भयो । यसले अनावश्यक खरिदारी र अस्वस्थ प्रतिस्पर्धालाई तीव्र बनायो । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण अर्थतन्त्रको महत्वपूर्ण आधार हो । यो आर्जनको अधिकांश हिस्सा उत्पादनशील लगानीमा भन्दा तत्कालको उपभोग र विलासितामा खर्च भइरहेको छ । विदेशमा देखिएको जीवनशैली, बढेको क्रयशक्ति र भविष्यप्रतिको अनिश्चितताले घरजग्गा, गाडी, महँगा उपकरण आदिमा खर्च गर्ने प्रवृत्ति बढाएको छ । यसले क्षणिक उपभोगलाई प्रोत्साहन दिँदै ‘देखासिकी’ संस्कृतिलाई मौलाउन सहयोग गरेको छ ।

हाम्रा परम्परागत मूल्य, जस्तैः मितव्ययिता, श्रमको सम्मान, सामुदायिक सहकार्य, ज्ञान र नैतिकता, कमजोर भएका छन् । व्यक्तिवाद हाबी हुँदै छ । सफलतालाई भौतिक सम्पत्ति र प्रदर्शनले मापन गर्ने चलन बढेको छ । बचत र भविष्यको सोच हराउँदै गएको छ । लामो राजनीतिक अस्थिरता र मुलुकभित्रै सीमित आर्थिक अवसरले आम मानिसमा भविष्यप्रति अन्योल बढाएको छ । यस्तो अवस्थामा मानिस दीर्घकालीन हितभन्दा तत्कालको सन्तुष्टि र सामाजिक प्रतिष्ठाका लागि अनावश्यक उपभोगमा केन्द्रित भएका छन् ।

समाजमा उपभोक्तावादका स्वरूप

यो चिन्तन समाज जीवनका अनेक पक्षमा देखिन्छ । हाम्रा मौलिक चाडपर्वहरू सांस्कृतिक र आध्यात्मिक महत्वभन्दा बढी किनमेल, भोजभतेर र खर्चिलो प्रदर्शनका अवसर बनेका छन् । बजारले अब पर्वहरूको स्वरूप नै निर्धारण गर्न थालेको छ । विवाह, व्रतबन्ध जस्ता संस्कारहरू पारिवारिक आत्मीयता साट्नेभन्दा तडकभडक र खर्च देखाउने प्रतिस्पर्धा भएका छन् । पहिरन, जुत्ता, मोबाइल, गाडी जस्ता वस्तुहरूमा प्रसिद्ध छापप्रति अत्यधिक मोह छ । वस्तुको गुणस्तर र आवश्यकताभन्दा मूल्य र बाहिरी आवरणले सामाजिक स्तर निर्धारण गर्छ । उपभोग्य वस्तु खरिदका लागि सजिलै पाइने ऋण र किस्ताबन्दीको सुविधाले मानिसलाई आय क्षमताभन्दा बढी खर्च गर्न उक्साएको छ । यसले पारिवारिक ऋणको बोझ बढाएको छ । 

उपभोक्तावादी प्रवृत्तिका गम्भीर असर

यस अनियन्त्रित प्रवृत्तिले हाम्रो अर्थतन्त्र, समाज, संस्कृति र वातावरणमा गम्भीर र दूरगामी नकारात्मक असर पारेको छ । आर्थिक रूपमा, विलासी र अनावश्यक वस्तुको आयातले देशको व्यापार घाटा विकराल बनेको छ । यसले विदेशी मुद्रा सञ्चिति घटाउँदै अर्थतन्त्रलाई परनिर्भर बनाएको छ । आर्जित पुँजी अनुत्पादक उपभोगमा जाँदा उत्पादनशील क्षेत्रमा लगानी अभाव भई देशको आर्थिक विकास अवरुद्ध भएको छ । पारिवारिक ऋणले आर्थिक असुरक्षा र मानसिक तनाव बढाएको छ । सामाजिक रूपमा, उपभोग क्षमताका आधारमा वर्ग विभाजन स्पष्ट भएको छ । यसले असमानता, ईष्र्या र द्वेष बढाउँछ । व्यक्तिवादले सामुदायिक भावना र आपसी सहयोगलाई कमजोर पारेको छ । निरन्तरको तुलना र भौतिक वस्तु प्राप्तिको दौडले मानिसमा चिन्ता, उदासी जस्ता मानसिक समस्या बढेका छन् । भौतिक सुखलाई नै सर्वस्व ठान्दा नैतिकता र मानवीय मूल्यहरूको पतन भइरहेको छ ।

सांस्कृतिक रूपमा, विश्वव्यापी बजारको एकतर्फी प्रभावले हाम्रो मौलिक संस्कृति, भाषा, कला र परम्पराहरू सङ्कटमा परेका छन् । बाह्य संस्कृतिको नक्कलले मौलिक पहिचान गुम्ने खतरा छ । परम्परागत ज्ञान र सिपमा आधारित स्थानीय उत्पादनहरू उपेक्षित हुँदै छन्, जसले स्थानीय अर्थतन्त्रलाई थप कमजोर बनाउँछ । वातावरणीय रूपमा, बढ्दो उपभोगले प्राकृतिक स्रोतहरूको अनियन्त्रित दोहन बढाएको छ । ‘प्रयोग गर र फाल’ संस्कृतिले प्लास्टिक र अन्य नसड्ने फोहोरको थुप्रो लगाएको छ । यसले भूमि, जल र वायु प्रदूषणलाई भयावह बनाएको छ । फोहोर व्यवस्थापन राष्ट्रिय चुनौती बनेको छ । वस्तुहरूको उत्पादनदेखि विसर्जनसम्मले कार्बन उत्सर्जन बढाएर जलवायु परिवर्तनको जोखिमलाई थप जटिल बनाएको छ ।

 समाधानका लागि सम्भावित मार्ग

उपभोक्तावादको यो जटिल समस्यालाई सम्बोधन गर्न व्यक्ति, समुदाय, समाज र राज्य, सबै तहबाट समन्वित र सार्थक प्रयासहरू अपरिहार्य छ । सर्वप्रथम, शिक्षा प्रणालीमा उपभोक्ता शिक्षा, वित्तीय साक्षरता र आलोचनात्मक चेतना विकास गर्ने विषयवस्तु समावेश गर्नु पर्छ । सञ्चार माध्यमले पनि सचेतना फैलाउने भूमिका खेल्नु पर्छ । सादा जीवन, मितव्ययिता र सन्तोष जस्ता परम्परागत मूल्यहरूको सान्दर्भिकतालाई पुनः स्थापित गर्नु पर्छ । दोस्रो, राज्यले स्थानीय उत्पादन, कृषि र साना उद्योगहरूलाई संरक्षण र प्रवर्धन गर्ने नीति लिनु पर्छ । आयात व्यवस्थापन गर्दै उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्नु पर्छ । भ्रामक विज्ञापन र अस्वस्थ बजारलाई कडा नियमन गर्नु पर्छ । वातावरणीय मापदण्डलाई कडाइका साथ लागु गरी फोहोर व्यवस्थापन र पुनर्चक्रणलाई प्रभावकारी बनाउनु पर्छ ।

तेस्रो, प्रत्येक व्यक्तिले आफ्नो खरिद व्यवहारप्रति सचेत र जिम्मेवार बन्नु पर्छ । आवश्यकता र इच्छाबिचको भेद छुट्याएर विवेकपूर्ण निर्णय लिनु पर्छ । देखासिकी र सामाजिक दबाबबाट मुक्त हुनु पर्छ । पुनः प्रयोग, मर्मतसम्भार र न्यून उपभोगलाई जीवनशैली बनाउनु पर्छ । भौतिक वस्तुको सङ्कलनभन्दा ज्ञान, अनुभव, मानवीय सम्बन्ध र सामुदायिक हितलाई प्राथमिकता दिनु पर्छ । चौथो, नागरिक समाज, स्थानीय समुदाय र समूहहरूले पनि उपभोक्ता सचेतना, वातावरणीय संरक्षण र स्थानीय संस्कृतिको प्रवर्धनमा सक्रिय भूमिका खेल्नु पर्छ । सामूहिक बहस, पैरवी र वैकल्पिक अभ्यासहरूले परिवर्तनलाई बल पु¥याउँछन् ।

सामूहिक अठोटको आवश्यकता

नेपाली समाज उपभोक्तावादी चिन्तनको गहिरो पासोमा पर्दै गएको यथार्थ स्वीकार गर्नु र यसको समाधान खोज्नु आजको आवश्यकता हो । यो केवल आर्थिक विषय होइन, यो हाम्रो जीवनदर्शन, मूल्यमान्यता, राष्ट्रिय अस्मिता र दिगो भविष्यसँग जोडिएको आधारभूत प्रश्न हो । अनियन्त्रित र विवेकहीन उपभोगले हामीलाई आर्थिक पराधीनता, सामाजिक विखण्डन, सांस्कृतिक क्षयीकरण र वातावरणीय विनाशतिर मात्र डो¥याउँछ । हामीले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो जीवनशैली र सामाजिक प्राथमिकतालाई पुनर्परिभाषित गर्नै पर्छ । साँचो सुख र सफलताको मापन भौतिक वस्तुको सङ्ग्रहबाट होइन, बरु मानसिक शान्ति, सामाजिक सद्भाव, सांस्कृतिक सम्पन्नता र प्रकृतिसँगको सामञ्जस्यबाट हुनु पर्छ । 

उपभोक्तावादको अँध्यारो सुरुङबाट बाहिर निस्कने बाटो भनेको सचेत, सन्तुलित, न्यायपूर्ण र प्रकृतिमैत्री जीवनपद्धतिको अवलम्बन नै हो । यसतर्फ उन्मुख हुन गरिने व्यक्तिगत प्रयास, सामाजिक जागरण र राज्यको जिम्मेवार नीतिबाट मात्र हामी आफ्नो मौलिक पहिचान जोगाउँदै एक समतामूलक, समृद्ध र साँच्चिकै दिगो नेपाल निर्माणको दिशामा अघि बढ्न सक्छौँ । हाम्रो भविष्य हाम्रो आजको छनोटमा निर्भर छ ।