• २० वैशाख २०८२, शनिबार

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीको भूमिका र योगदानको सराहना

blog

यदुप्रसाद भट्ट

मनाङ, वैशाख १९ गते। गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनामा सशस्त्र प्रहरीले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभएको छ। उहाँले सो कुरा सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘विशेष गरी सीमा सुरक्षा तथा उद्दारमा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको छ।’ विपद्मा गरिने उद्दारजस्ता कार्यले देशविदेशका मानिसको विश्वास र भरोसा बढाउँदै गएको तथा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय रहेको उहाँको भनाइ छ। 

विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकको यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने भन्दै गृहमन्त्री लेखकले पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले पर्वतीय जोखिम उद्दारमा सशस्त्र प्रहरीले सहयोग पुर्‍याउने गरी प्रशिक्षित गरिएको उहाँले बताउनुभयो। 

पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउनु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘यहाँ हुने पर्यटकीय गतिविधिले नै जिल्ला र देशको अर्थतन्त्रलाई टेवा पुग्छ। त्यसैले जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौँ भन्ने आभास दिन सक्नुपर्छ।’


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा यस्ता तालिमले जिम्मेवारी थप भएको बताउनुभयो। उहाँले जल उद्दारलाई जस्तै पर्वतीय उद्दारलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको धारणा राख्दै भन्नुभयो, ‘सुरक्षाको प्रत्याभूतिले नै पर्यटक आगमनमा वृद्धि गराउन सकिन्छ। गोताखोरलाई जसरी उद्दारमा जुटेका सशस्त्र प्रहरीलाई जस्तै पर्वतीय उद्दारमा खटिने प्रहरीलाई पनि सेवा सुविधा सम्पन्न गर्न आवश्यक व्यवस्थापन गरिनुपर्छ।’ 

सरकारबाट व्यवस्थापन नहुँदासम्म कल्याणकारी कोषबाट भए पनि उद्दारमा खटिने सशस्त्र प्रहरीलाई एक हजार भत्ताको प्रबन्ध गरिने उहाँको भनाइ छ। शिक्षालयबाट ४५ जना दीक्षित भएका छन्।

यसैबिच गृहमन्त्री लेखक, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, गृहसचिव गोकर्णमणि दुवाडी, प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङलगायतलाई मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पालिकामा स्वागत गर्नुभएको थियो। उहाँहरूले दुर्गमका पालिकामा जनप्रतिनिधिले पुर्‍याउँदै आएको सेवा सुविधाबारे चासो राख्नुभएको थियो।