सिराज खान
नेपालगन्ज, वैशाख १९ गते। शनिबार र आइतबार नेपालगन्जमा आयोजना गरिने नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको जनाइएको छ।
नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनलाई ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि सबै तयारी पूरा गरिएको जनाउँदै सो महाधिवेशनको उद्घाटन शनिबार एक भव्य सभाका बिच प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने बताउनुभयो।
उहाँले महाधिवेशनमा देशभरबाट छ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने जनाउँदै उद्घाटन समारोहमा हजारौं मुस्लिम र अन्य सर्वसाधारणको सहभागिता रहने बताउनुभयो।
यो महाधिवेशन पछाडि पारिएका मुस्लिम र मधेशी समुदायको उत्थानका लागि ऐतिहासिक हुने दाबी गर्दै केन्द्रीय सदस्य हलवाईले महाधिवेशनबाट मुस्लिम मात्र नभई मधेशी, थारू, दलित, अल्पसङ्ख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि नेपालगन्ज घोषणा पत्र जारी गरिने बताउनुभयो।
यस्तै नेकपा एमालेका अर्का केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्युताउने खेल भइरहेकोले यो महाधिवेशनले गणतन्त्रलाई बलियो बनाउन अहम भूमिका खेल्ने बताउनुभयो।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रिय कोषाध्यक्ष करिम खानले नेपाल मुस्लिम इत्तेहाद सङ्गठन सबैभन्दा पुरानो र ऐतिहासिक सङ्गठन भएकोले महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भीर छलफल र विमर्श हुने बताउनुभयो।
यसअघि सो महाधिवेशनको तयारीका लागि एमालेका केन्द्रीय सदस्य तथा सांसद दीपा शर्मा र सूर्य ढकाल, लेखा समिति सदस्य विजया धिताल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन सातौँ महाधिवेशन मुल समारोह संयोजक हलिम शाह, एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली बिसी, एमाले बाँकेका उप–सचिव एवम् जनसंगठन विभाग इन्चार्ज किशोर थापा, सफिक बेहना, शकील अहमद कादरी, सगिर खान लगायतका नेताले पनि अहोरात्र खटिएर काम गर्नु भएको महाधिवेशन आयोजक समितिले जनाएको छ।
सो महाधिवेशनले सङ्घीयता र गणतन्त्रको रक्षासँगै हिन्दू–मुस्लिमको एकतालाई अझ बलियो बनाउने बताइएको छ।