• १९ वैशाख २०८२, शुक्रबार

जनताले चुनेको यो शासन व्यवस्थाको विकल्प छैन : सचिव बिष्ट

blog

नेकपा (एमाले) गौर नगर कमिटीको अधिबेशनको खुलासत्रमा केन्द्रीय सचिव गोकर्ण बिष्टसँगै एमालेका नेतागण । तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), बैशाख १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ । 

रौतहट सदरमुकाम गौरमा नेकपा (एमाले) गौर नगर कमिटीको अधिबेशनमा बोल्नु हुँदै सचिव बिष्टले चैत १५ गते राजा  फर्काउने नाममा  हिंसात्मक  हर्कत गर्नेलाई सरकारले संबैधानिक र कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउनुभयो ।

श्रमिकमाथि शोषण गर्नेहरुलाई पराजित गरेर  बिजय प्राप्त गरेको दिनको अवसरमा सम्पूर्ण श्रमिकलाई शुभकामना दिनु हुँदै सचिव बिष्टले आफ्नो हकहितका लागि श्रमिकहरुबिच एकता बलियो हुन् आवश्यक रहेको बताउनुभयो ।

‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनलाई सम्झदै एमाले सचिव विष्टले प्रत्येक श्रमिकको अनुहारमा मुस्कान आउनेगरी नेकपा (एमाले) ले काम गरिरहेको बताउनुभयो ।  

एमाले सचिव बिष्टले देशसँगै जनतामा समृद्धि आउन एमाले निरन्तर लागिरहेको बताउनुभयो । खान नपाउनेले खान पाउनु पर्ने, रोजगारी नपाएकाले रोजगारी पाउनु पर्ने, घर नभएकाले घर पाउनु पर्ने, उपचार गराउन नपाएकाले उपचार गराउन पाउनु पर्ने लगायतका जनताका मुद्दा एमालेले उठाइरहेको बताउनुभयो । 

एमाले सचिव बिष्टले पूर्व प्रधानमन्त्री एबम नेकपा समाजवादिका अध्यक्ष माधवकुमार नेपालको गृहनगर गौरको बिकासको अवस्था  हेरेर मन दुःखी भएको  बताउनुभयो ।

९ औं नगर अधिबेशनले भैरवप्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक मिथिलेशकुमार झाले बताउनुभयो ।