• ६ वैशाख २०८१, बिहिबार

सन्दर्भः महिला दिवस

पहिलो महिला न्यायाधीश : उमेर ८१ वर्ष, काम गर्ने जोश र जाँगर उस्तै

blog

काठमाडौं, फागुन २४ गते । नेपालकै पहिलो महिला न्यायाधीश हुनुहुन्छ शारदा श्रेष्ठ । सानै उमेरदेखि व्यस्त रहन मन पराउने न्यायाधीश श्रेष्ठमा ८१ वर्षको हुँदा पनि उस्तै जोश र जाँगर देखिन्छ । उहाँ आज पनि आफ्नो काममा व्यस्त रहनुहुन्छ र भविष्यको योजना बनाउने गर्नुहुन्छ । अहिले पनि नेपाली महिला मञ्चअन्तर्गत विभिन्न काम सुरु गर्ने योजनामा व्यस्त रहेको उहाँले बताउनुभयो ।

महिलालाई पढाउने अवस्था नै नभएको पुस्ताका व्यक्ति हुनुुहुन्छ-न्यायाधीश श्रेष्ठ । श्रेष्ठ भन्नुहुन्छ, “पढाइको विषयमा हामी तीनै दिदीबहिनी आफूलाई भाग्यमानी ठान्छौँ । हाम्रो पालामा कतिपय साथीले विद्यालय खर्च उठाउन नसकेर पढ्नै पाएनन् तर हाम्रो परिवारमा महिलालाई पढाउनैपर्छ भन्ने मान्यता थियो ।”

न्यायाधीश बन्ने सोच थिएन

महिला न्यायाधीश बन्ने सपनासहित पढाइलाई निरन्तरता नदिएको श्रेष्ठको भनाइ छ । आमाबुवाले पनि अरूको घरमा जाने छोरीलाई केही हदसम्म सजिलो होला भनेर हामीलाई विद्यालय पठाएको हुनसक्ने उहाँको अहिलेको अनुमान छ । 

“२०१८ सालमा मै ‘बीएस्सी’ गर्दै थिएँ । महेन्द्र सरकारको पालामा ‘अन्तर्राष्ट्रिय तत्त्व’ आन्दोलन थियो । यसमा बुवा जेल पर्नुभयो, म र बहिनी सावित्री मिलेर बुवा छुटाउन धेरै प्रयत्न गर्‍यौँ तर छुटाउन सकिएन । श्रेष्ठ सम्झिनुहुन्छ, “यसरी बुवा छुटाउनका लागि कि त मुद्दा लड्नुपर्ने कि महेन्द्र सरकारको दर्शन गरेर बिन्ती गर्नुपर्ने थियो, जुन हाम्रा लागि दुवै असम्भव थियो । त्यसैले मुद्दा लडेर नै बुवा छुटाउने आशाले मैले कानुन विषय रोजेको हो ।” 

२०२३ सालमा कास्की र लमजुङको भूमिसुधार स्पेसल कोर्टमा काम गर्नुहुन्थ्यो श्रेष्ठ । २०२५ मा कानुन मन्त्रालय पुग्नुभयो । त्यसको दुई वर्षपछि जिल्ला न्यायाधीश बन्नुभयो । नेपालको पहिलो महिला न्यायाधीश बनेर श्रेष्ठले इतिहासमा आफ्नो नाम लेखाउनुभयो ।

लामो इतिहासको अनुभव बटुल्नु भएकी श्रेष्ठ भन्नुहुन्छ, “न्यायलाई विभिन्न तरिकाले परिभाषित गर्न सकिन्छ । कानुनमा रहेर बेञ्चमा बस्दा समाजलाई ध्यानमा राखेर फैसला गर्नुपर्ने हुन्छ, त्यसैले एक सच्चा न्यायाधीश बन्न आफ्नो विचारमा विश्वस्त हुनुपर्छ र आफूमा अरूको प्रभाव पर्न दिनुहुन्न ।”

न्यायाधीशलाई न्यायमूर्ति भन्दै गर्दा कतिपय अवस्थामा सजाय पाएको व्यक्तिको सजाय केही हदसम्म घटाउन पाए हुने भन्ने भावना मनमा आउने उहाँ सम्झिनुहुन्छ । "तर म कानुनमा बाँधिएको हुन्थेँ। कानुन अनुसार फैसला गर्नु मेरो कर्तव्य थियो, कहिलेकाहीँ यस्ता केस आउँथे जसलाई आजसम्म पनि म बिर्सन सक्दिनँ, " उहाँले भन्नुभयो । 

श्रेष्ठ सेवानिवृत्त हुनुभएको पनि करिब १५ वर्ष पुगिसक्यो तर पनि कानुन शब्द उहाँका लागि निकै प्रिय छ । 

अहिले नेपालमा महिला न्यायाधीशको अवस्थामा सुधार आएको श्रेष्ठ बताउनुहुन्छ । “आज अदालतमा महिला न्यायाधीशको कमी छैन”, उहाँ भन्नुहुन्छ, “म न्यायाधीश बनेपछि धेरै अन्तरपछि अर्को महिला न्यायाधीश बन्नुभयो तर अहिले त्यस्तो छैन ।”

“हामी आफूले आफैँलाई चिन्न सक्नुपर्छ, महिलाको हातमा ठूलो शक्ति छ । म को हुँ, मैले कसरी घरपरिवार चलाउनुपर्छ, कसरी समाजसँग मिलेर बस्नुपर्छ भन्ने विषयमा स्पष्ट हुनुपर्छ ।” 

श्रेष्ठ भन्नुहुन्छ, “पहिले म महिला हुँ, त्यसपछि मात्रै अरू विषय मसँग जोडिन आउँछन् । महिलाले आफूले गरेको सङ्घर्ष बुझेर शान्ति र समृद्ध हिसाबले देश चलाउनुपर्छ सोच लिएर हामी अगाडि बढ्नुपर्छ ।”

नेपालको पहिलो न्यायाधीश शारदा श्रेष्ठसँग अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ