• ३१ असोज २०८२, शुक्रबार

स्विमिङ खेलको विकास र प्रवर्धनका लागि स्विमिङ च्याम्पेनसिप हुँदै

blog

प्रतियोगिताका बारेमा जानकारी गराउँदै आयोजक नेपालगन्ज स्विमिङ क्लबका पदाधिकारीहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज ३१ गते ।
नेपालकै अत्यधिक गर्मी हुने ठाउँ भनेर चिनिएको बाँकेको नेपालगन्जमा दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पेनसिप हुने भएको छ । पछिल्लो समयमा स्विमिङ खेलप्रति देखिएको आकर्षणलाई मध्यनजर गर्दै स्विमिङ खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यका साथ आगामी कात्तिक १४ र १५ गते नेपालगन्जमा दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पेनसिप २०२५ आयोजना गर्न लागिएको हो ।

नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आयोजक नेपालगन्ज स्विमिङ क्लबले उक्त कुराको जानकारी दिएको हो । क्लबका अध्यक्ष केशवराज न्यौपानेले स्विमिङ खेलको विकास र प्रवर्धन गर्नका लागि आगामी कात्तिक १४ र १५ गते नेपालगन्जस्थित रङ्गशालामा रहेको स्विमिङ पुल (पौडी पोखरी)मा दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पेनसिप २०२५ को आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले प्रतियोगितामा देशैभरबाट अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका गरी करिब दुई सय प्रतिस्पर्धी खेलाडीहरुले भाग लिने बताउनुभयो । ‘‘हामीले पछिल्लो समयमा नयाँ पुस्तामा देखिएको पौडी खेलप्रतिको आकर्षणलाई मध्यनजर गर्दै ८ देखि १७ वर्ष उमेर समूहका भाइबहिनीहरुलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गरेका छौँ, यो केवल प्रतियोगिता मात्र नभएर पौडी खेलप्रति रुचि भएकाहरुका लागि उचित प्लेटफर्म पनि हो, यहाँबाट हामी नयाँ खेलाडी उत्पादन गर्न खोजिरहेका छौँ, जसले भविष्यमा गएर देशकै नाम राख्न सकुन् ।’’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दूरीमा, अन्डर १० उमेर समूहका खेलाडीहरुले ५० मिटर दूरीमा, अन्डर १२ र १४ उमेर समूहका खेलाडीहरुले ५० र १०० मिटर दूरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । उहाँले खुला उमेर समूहका खेलाडीहरुले दुई सय र चार सय मिटर दूरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्ट रहने छन् ।

क्लबका सदस्य हरिमाया गुरुङले प्रतियोगितामा सहभागिताका लागि क्लबले आवेदन खुला गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सहभागिताका लागि आवेदन फर्म भर्दा एक हजार पाँच सय रुपियाँ प्रतिव्यक्ति शुल्क लाग्ने छ । बाँके जिल्लाबाहेक अन्य बाहिरी जिल्लाबाट सहभागी हुन आउने खेलाडीहरुलाई खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था आयोजकले गरेको गुरुङले जानकारी दिनुभयो ।

बाँकेका विभिन्न होटल तथा विद्यालयमा रहेका पौडी पोखरीहरुमा पौडी प्रशिक्षक चन्दुराम चौधरीले प्रशिक्षक दिइरहनुभएको छ । प्रशिक्षक चौधरीका अनुसार नेपालगन्जमा रहेका होटल सिद्धार्थ, डायमण्डलगायतका होटलहरु र कोहलपुरमा रहेका सिखा एकेडेमी स्कुलमा रहेका पौडी पोखरीहरुमा अहिले प्रशिक्षण चलिरहेको छ । उहाँले पौडी प्रशिक्षणमा भाग लिइरहेकाहरु यस खेलप्रति अति उत्साहित भएको पाइएको र आकर्षढ बढ्दै गइरहेको बताउनुभयो । यस किसिमका प्रतियोगिताले देशले भविष्यमा राम्रा पौडीबाजहरु उत्पादन गर्नमा सहयोग पुग्ने आशा गरिएको उहाँको भनाइ छ ।

राष्ट्रिय स्विमिङ संघले यो प्रतियोगितालाई आफ्नो क्यालेण्डरमा समेत राखेको क्लबले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने तथा एकजना वेष्ट प्लेयर ब्जाइज र एकजना वेष्ट प्लेयर गल्र्स गरी दुई जनालाई भने नगदसहित पुरस्कृतसमेत गरिने जनाइएको छ । क्लबले गत वर्ष नेपालगन्जको पहिलो संस्करण आयोजना गरिसकेको छ । यो संस्करणका लागि करिब १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको क्लबले जनाएको  छ ।