काठमाडौँ, असोज ३१ गते । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ ।
चलचित्रले नेपालको पर्यटकीय स्थलको प्रवर्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पुर्याउन थप मद्दत गर्ने अभिनेता अनमोल केसीले बताउनुभयो । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुग्नुभएका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ । किनकि प्राविधिक रुपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरी हामीले नेपाली बजारलाई दृष्टिगत गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ । तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ ।”
चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा देखिँदा स्वाभाविक लागोस् भनेर उहाँले चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बन्नुभएकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिनुभएको थियो ।
“हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वाभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ । हामीले सक्दो लगानी र मेहनतले चलचित्र तयार गरेका छौँ । यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ”, अभिनेता केसीले भन्नुभयो ।
आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनाउन प्रेरणा मिल्ने अभिनेता केसीको बुझाइ छ । अभिनेत्री गुरुङले पनि पात्रलाई स्वाभाविक देखाउन सक्दो मेहनत गरेको बताउनुभयो ।
“हिमालसँग नजिक रहेको युवतीको भूमिका भएकाले पनि मैले त्यहीअनुरुप तयारी गरेँ । हाम्रो देश नेपालको हिमाली भेगको सुन्दरतालाई चलचित्रभर दर्शकले देख्न पाउनुहुनेछ । सार्वजनिक प्रचारप्रसारमा देखिएका श्रव्यदृश्यभन्दा चलचित्र झनै भव्य छ”, अभिनेत्री गुरुङले भन्नुभयो ।
चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्ष अगाडि प्रदर्शन भएको ‘जेरी’ले युवापुस्तालाई चलचित्र भवनसम्म आकर्षित गरेकोले सोही नामसँग मिल्दो चलचित्र ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई आकर्षित गर्ने बताउनुभयो ।
“जेरी प्रदर्शन हुँदा म चलचित्रमा आएको थिइनँ । त्यो बेला चलचित्र भवनमै पुग्नुपर्छ भनेर हामी युवापुस्तामाझ चर्चा हुन्थ्यो । अहिले सोही नाम र सोही अभिनेतासँग चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ । यस चलचित्रले पनि नयाँ पुस्तालाई चलचित्र भवनसम्म ल्याउनेमा विश्वस्त छु”, अभिनेत्री शर्माले भन्नुभयो ।
उक्त चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएकाले यसले पर्यटनमा टेवा पुर्याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मिहिनेत गरेका छौँ ।”
उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गर्नुभएको छ । ‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’को सुयोग गुरूङले निर्देशन गर्नुभएको छ । यस चलचित्रमा हेमराज बिसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गर्नुभएको छ । रासस