रहरहरू
कहिलेकाहीँ लाग्छ मेरा रहरहरू
चाँदनी रातको धिपधिपे उज्यालोमा
मलाई चियाएर जिस्क्याइरहेछन्
मानौँ,
मेरा लाजहरूसँग उसलाई प्रेम भएको छ
सुहागरातमा घुम्टोभित्र लजाएकी दुलहीझैँ
आँखाभरिको रहर थाहै नपाई
तप्लक्क खस्दो हो प्रेमालापमा ।
अझै,
रहरहरू टारी खेतको लहलह झुलेका
धानका बालाहरूजस्तै झुल्दा
ती पाखामा फुल्ने लालीगुराँसजस्तै
ढकमक्क भएर मनै लोभ्याउने अप्सराझैँ
बन्ने रहरमा कति हतारिँदा हुन् ।
उसो त,
क्षितिजमा देखिने आकाश धर्तीको पीडा
कहाँ पत्ता नभएको हो र ?
यी रहरहरूलाई
युगौँदेखि सँगै देखिएर पनि
बिनास्पर्श बाँचिरहेछन्
यो बाध्यता र विवशताको
कहाँ लेखाजोखा गरी साध्य होला ।
यो मन
खडेरीले खाएको पाखो बारीमै मरिरहेछ
मुस्कानी फूलजस्ता तिम्रा मेरा रहरहरू
बुँद बुँद मायाका थोपाहरूले कहिले
भिजाउँदो हो ?
र हरिया
आशाका मुनाहरू पलाउँदा हुन्
बाँच्ने रहरमा कैयौँ पटक
मरे जिन्दगीका रहरहरू ।