• १३ साउन २०८१, आइतबार

युजेनको त्यो गोर्खा चित्र

blog

विश्वप्रसिद्ध कलाकार युजेन दलाक्व्रा फ्रान्सका प्रमुख स्वच्छन्दतावादी कलाकार हुनुहुन्छ । सम्पन्न परिवारमा उहाँ २६ अप्रिल, १७९८ मा फ्रान्सको सेन्ट मौरिसमा जन्मनुभएको थियो । उहाँको पिता फ्रान्सका परराष्ट्रमन्त्री हुनुभएको थियो । उहाँकी माता एक सुसंस्कृत, सुशील, पढेलेखेकी भद्र महिला हुनुहुन्थ्यो । उहाँले नै छोरा युजेन दलाक्व्रालाई साहित्य र कलाप्रति अभिरुचि जगाइदिनुभएको थियो ।

प्रारम्भिक अवस्थामा कलाकार युजेनले प्रशस्त धार्मिक चित्र बनाउनुभयो । उहाँले बनाएको पहिलो चित्र ‘दाँते एन्ड भिर्गिल इन हेल, १८२२’लाई पेरिसको सालोनले स्वीकारेर प्रदर्शनीमा राखेको थियो । सालोनमा प्रदर्शित उहाँको उक्त चित्रमा प्रयोग गरिएको रङ सन्तुलनको धेरैले प्रशंसा गरेका थिए । उहाँले सेक्सपियर, गोयथे, वाल्टर स्कटका साहित्यिक रचनाका लागि थुप्रै दृष्टान्त चित्र पनि बनाउनुभएको छ । युजेन प्रयोगधर्मी कलाकार हुनुहुन्थ्यो । यस क्रममा उहाँले बनाएको ‘सारदानापालुसको मृत्यु’ अर्को एक प्रसिद्ध चित्र हो । तुर्कविरुद्ध ग्रिकको युद्ध विषय बनाएर युजेनले ‘मिसोलोङ्घीको भग्नावशेषमाथि अवसान उन्मुख ग्रिस’ नाम गरेको उत्कृष्ट चित्र पनि बनाउनुभएको छ । 

दलाक्व्राले बनाएको 

‘जनतालाई नेतृत्व गर्दै गरेकी स्वतन्त्रताकी देवी’ नामक एक अनुपम चित्र हो । यो एक क्रान्तिकारी चित्र हो । यस चित्रमा क्रान्तिकारीहरू लासको थुप्रो छिचोल्दै अगाडि बढिरहेका छन् । यस चित्रमा क्रान्तिको नेतृत्व गरिरहेकी एक नारी एक हातमा झन्डा र अर्को हातमा बन्दुक बोकेर अगाडि बढिरहेकी छन् । विद्यार्थी, वकिल र जनता पेस्तोल र तरबार उठाएर क्रान्तिमा होमिरहेको यसमा देखाइएको छ । यो पेन्टिङ स्वच्छन्दतावादको उच्चकोटिको चित्र मानिन्छ । युजेन दलाक्व्राले फ्रान्समा प्रसिद्ध कलाकार व्यारोनसँग चित्रकला सिक्नुभएको थियो । उहाँले बनाएका प्रायः सबै चित्र उत्कृष्ट छन् । उहाँले उत्तर अफ्रिका भ्रमण गरेर अरबी र ज्युयिसको जीवनी, वन्यजन्तुलाई पनि आफ्ना चित्रको विषय बनाउनुभएको छ । 

उहाँले धेरै व्यक्ति चित्र, सामाजिक चित्र, धार्मिक चित्र पनि बनाउनुभएको छ । उहाँले बनाएका केही चित्र पेरिसको लुभ्रमा हेर्न सकिन्छ । ती चित्रमध्ये केही यस प्रकार छन्– अर्फन गर्ल एट दी सिमेन्ट्री, लुइस अफ ओर्लिन्स, ओमन विथ ह्वाइट सक्स, म्याडेमोसिक रोज, द ओमन अफ अल्गियर्स । 

विश्वप्रसिद्ध कलाकार युजेन दालक्व्राले हातमा खुकुरी लिएर, जङ्गलमा कुनै हिंसात्मक वातावरणवाट बच्न उद्यत, कम्मरमा पटुका, शिरमा फेटा लगाएको एक भारतीय गोर्खाको चित्र पनि बनाउनुभएको छ । उक्त चित्रबारे प्रसिद्ध कलाकार एवं लेखक लैनसिंह वाङ्गदेलले आफ्नो पुस्तक ‘युरोपको चिठी’मा उल्लेख गर्नुभएको छ । यो चित्र झन्डै २४० वर्षअघि बनाइएको हुनुपर्छ भनी उहाँले लेख्नुभएको छ । 

युजेन दलाक्व्राले ‘जस्टिस अफ ट्राजन’ सालोन द एपोलोन लुभ्रमा, सिनेटका अफिस कोठा र डिपुटी च्याम्बर, सुल्पिक, होटल भिल्लामा कमिसन वोर्क बनाउनुभएको छ । उहाँका चित्रहरू वोस्टन, लस एन्जलस, न्युयोर्क, टोरन्टो, वासिङ्टन आदि सहरका कला सङ्ग्रहालयमा सङ्कलन गरिएका छन् । फ्रान्सेली स्वछन्दतावादलाई शिखरमा पु¥याउने श्रेय उहाँलाई जान्छ । उहाँको मृत्यु १३ अगस्त, १८६३ मा पेरिसमा भयो ।